जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल एक हजार ३२६ जना नयाँ मतदाताले मतदता नामावलीमा नाम दर्ता गरेका छन् । तीमध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा र २७८ जनाले अनलाइन तथा कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।
निर्वाचन कार्यालयले चैत २२ गतेदेखि मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिन आग्रह गरेपछि जिल्ला निर्वाचन कार्यालयमा भीड लाग्न थालेको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
उनले दैनिक २० देखि २५ जना दैनिक रूपमा मतदाता नामावलीमा नाम दर्ताका लागि कार्यालयमा आइरहेको जानकारी दिँदै युवा उमेरका मतदाताले अनलाइनबाट आवेदन दिएको उल्लेख गरे । अधिकांश आवेदन दिने २० देखि ४० वर्षसम्मका छन् ।
शाहीका अनुसार मतदाता नामावलीका लागि भौतिक रूपमा उपस्थित हुनेसँगै अनलाइनबाट आवेदन दिने धेरै छन् । “मतदाता नामावलीमा छुटेका देखिन्छन् त्यसैले आवेदन खुला गरिएको छ”, जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख शाहीले भने ।
प्रमुख शाहीले यो सङ्ख्या बढ्दै जाने उल्लेख गर्दै अनलाइनबाट नै त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्ने कार्य भइरहेको बताए । शाहीले अहिले त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्नका लागि समय धेरै नलाग्ने उल्लेख गरे ।