Connect with us

राजनीति

ओली र लेखकमाथि अनुसन्धान: पोस्टमार्टम रिपोर्टदेखि सिसिटिभी फुटेजसम्म अध्ययन हुँदै

Published

on

ठुलो मानवीय क्षति भएको जेन–जी आन्दोलनको विशेष अध्ययन गरिरहेको प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान तीव्र बनाएको छ । जेन–जी आन्दोलन छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ओली, लेखकसहितका अधिकारीमाथि फौजदारी कसुरअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो । त्यसपछि पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा छुटे पनि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकका पोस्टमार्टम रिपोर्ट, घटनास्थलआसपास भेटिएका सिसिटिभी फुटेज, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट प्राप्त फोटो, भिडियो, अडियो, घाइतेका बयानलगायत प्रमाणका आधारमा अध्ययन भइरहेको छ । यसक्रममा कतिपय घाइते र प्रत्यक्षदर्शीलाई प्रहरीले भेटेरै बयान लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले विभिन्न प्रमाण विश्लेषण गर्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि अनुसन्धान चलिरहेको बताए । ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री हाजिरी जमानीमा छुट्नुभएको हो, उहाँहरूमाथिको अनुसन्धान प्रक्रिया रोकिएको होइन । घटनास्थलबाट प्राप्त प्रमाण, पोस्टमार्टम रिपोर्ट, घाइतेका बयान, फोटो, भिडियोजस्ता पक्षलाई लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

२१ फागुनको निर्वाचनपछि गठन भएको बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारले उच्चस्तरीय जाँचबुझ आयोगकै सिफारिसअनुसार १४ चैतमा ओली र लेखक दुवैलाई पक्राउ गरेको थियो । १३ दिनको हिरासत बसाइपछि उनीहरू हाजिर जमानीमा छुटेका थिए ।

लापरबाहीपूर्ण ढंगले आन्दोलनमा दमन गरेको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले ओली र लेखकसहित नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (१) र १८२ अनुसार तहकिकात र अभियोजन गर्न सिफारिस गरेको थियो । आन्दोलनका क्रममा ओली, लेखक र खापुङले घण्टौँसम्म गोली चल्दा पनि रोक्ने प्रयास नगरी मौन बसेको आयोगको दाबी छ । अन्तिम बल प्रयोग गर्नुपर्दा आनुपातिक र आवश्यकताको सिद्धान्तलाई राम्ररी पालना नगरेको संकलित प्रमाणबाट देखिने आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘घण्टौँसम्म लाइभ फाइरिङ हुँदा रोक्ने प्रयास नगरी मौन बसेको हुँदा अन्तिम बल प्रयोग गर्नुपर्दा आनुपातिक र आवश्यकताको सिद्धान्तलाई राम्ररी पालना नगरेको आयोगबाट संकलित प्रमाणबाट देखिन्छ । १७ जना संसद्परिसरबाहिर मारिएकामा आफूलाई घटनाहरूका सम्बन्धमा थाहा नभएको भनी दायित्वबाट पन्छिन खोज्नु सिद्धान्ततः मिल्ने देखिएन । संविधानले ग्यारेन्टी गरिएको सर्वसाधारण जनताको जिउज्यानको सुरक्षा, शान्तिपूर्ण निःशस्त्र भेला–प्रदर्शन गर्न पाउने अधिकारको मर्यादा, मान्यता र राज्यबाट संरक्षण हुने विश्वासमा निस्किएका शान्तिपूर्ण जुलुसमा समेत आवश्यकभन्दा बढी बलको प्रयोग भएको देखिन आएको छ ।’

सोहीकारण उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार कारबाही सिफारिस गरिएको भनिएको छ । उक्त दफामा कसैले पनि लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने व्यवस्था छ । कसुर गर्नेलाई तीन वर्षदेखि १० वर्ष कैद सजाय र तीन हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । ‘कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ,’ दफामा भनिएको छ ।

सोही कसुर पुष्टि गर्न प्रहरीले घटनाको फरक ढंगले अनुसन्धान गरिरहेको छ । यसक्रममा प्रहरीले घटनाका दिन प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयमा भएका कुराकानी, टेलिफोन वार्ता, गरिएका मौखिक तथा लिखित निर्देशनलगायतका विषयमाथि पनि गहन रूपमा अध्ययन गरिरहेको जनाएको छ । त्यसबाहेक घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठक, त्यसका निर्णय, चारवटै सुरक्षा निकायका प्रमुखसँग ओलीले प्रधानमन्त्रीनिवासमा गरेको संवाद पनि प्रहरीले अप्रत्यक्ष रूपमा अध्ययन गरेको छ ।

प्रहरी स्रोतले भन्यो, ‘उहाँहरूले आन्दोलनका वेला लापरबाहीपूर्ण ढंगले काम गरेको निष्कर्ष आयोगको छ । जसलाई पुष्टि गर्न प्रमाण चाहिन्छ । त्यसका निम्ति उहाँको टेलिफोन संवाद, भएका निर्णय, गरिएका संवादजस्ता विषयवस्तु पनि अध्ययन गर्न जरुरी छ । यी विषय पनि संकलन भएका छन् । र, अनुसन्धान प्रक्रिया अघि बढेका छन् ।’

सर्वोच्च अदालतको आदेशपछि ओली र लेखक गत २७ चैतमा हिरासतमुक्त भएका थिए । हिरासत अवधिभर ओली महाराजगन्जस्थित शिक्षण अस्पताल बसेका थिए भने लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको थियो ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएका हत्या, तोडफोड तथा आगजनीको छानबिन गर्न सुशीला कार्की नेतृत्वको सरकारले गत ९ असोजमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । करिब ६ महिनाको छानबिनपछि ओली र लेखकले पदीय जिम्मेवारी ननिभाएको निष्कर्ष निकालेको थियो ।

रास्वपा वरिष्ठ नेता बालेनको नेतृत्वमा सरकार गठन भएलगत्तै आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सोही निर्णयपछि ओली र लेखक पक्राउ परेका थिए । तर, प्रहरीको हकमा भने विशेष अध्ययनपछि मात्रै कारबाही अघि बढाउने भनिएको थियो । पक्राउको १३ दिनमा ओली र लेखक दुवैको बयान लिएको प्रहरीले आन्दोलन दमनमा उनीहरूको भूमिका अध्ययन गरिरहेको छ ।
टेकराज थामी/नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.