Connect with us

राजनीति

ओली र लेखकलाई बयानमा बोलाउने छानबिन आयोगको निर्णय, तयार गरिए प्रश्न

Published

on

फिल्डमा खटिएका प्रहरी, उनीहरूका कमान्डर तथा गुप्तचर प्रमुख, तत्कालीन सिडिओदेखि गृहसचिवसम्म गरी १५० भन्दा धेरैसँग भइसक्यो बयान
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बयान सकिन बाँकी, लगत्तै ओली र लेखकलाई बोलाउन आयोगको तयारी
जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय गरेको छ । तत्कालीन गृहसचिवसम्मको बयान लिइसकेको आयोगको आइतबारको बैठकले ओली र लेखकलाई पनि बयानमा बोलाउने निर्णय गरेको हो । ‘उहाँहरूलाई बयानमा बोलाउने निर्णय भइसकेको छ,’ आयोग प्रवक्ता विज्ञानराज शर्माले भने, ‘केही दिनमै पत्र लेख्छौँ ।’ आयोग स्रोतका अनुसार मंगलबार नै पत्राचार गर्ने सम्भावना छ ।

ओली र लेखकमाथि छानबिनमा ढिलाइ भएकोमा सहिद परिवार र जेन–जी अगुवाले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूलाई सोध्ने प्रश्न पनि तयार पारिसकेको आयोगका एक सदस्यले बताए । ‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्ने प्रश्न तयार गरिसकेका छौँ,’ ती सदस्यले भने, ‘आन्दोलन दमनमा सरकारको भूमिका कस्तो थियो रु सुरक्षा तयारी कस्तो थियो ? कहाँ फेल भयो ? भनेर सोधपुछ हुनेछ ।’

२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा सरकारले घातक हतियारबाट अन्धाधुन्ध गोली चलाउँदा बानेश्वर क्षेत्रमा मात्रै १७ युवाको ज्यान गएको थियो । उपत्यकाबाहिर दुई युवा मारिएका थिए । एक सयभन्दा धेरै घाइते भएका थिए । कतिपय घाइते अझै अस्पतालमै उपचाररत छन् ।

आयोगले हालसम्म १५० भन्दा धेरैसँग बयान, बयान कागज तथा सोधपुछ गरिसकेको छ । फिल्डमा खटिएका प्रहरीदेखि उनीहरूका कमान्डर तथा गुप्तचर प्रमुखसम्म आयोगले बयान लिइसकेको छ । सोमबार पनि आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल तथा काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसँग बयान लिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाहेक सबैको बयान सम्पन्न भइसकेको आयोगले जनाएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले आयोग निष्पक्ष नभएको भन्दै बयान नदिने धम्की दिँदै आएका छन् । लेखक यस विषयमा मौन छन् । एमाले उपमहासचिव रघुवीर महासेठले अध्यक्ष ओलीको व्यक्तित्व ड्यामेज गर्न बयान लिन खोजिएको तर्क गरे । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको तीन महिना पुगिसकेको छ । सरकारले ९ माघसम्म म्याद थप गरेको छ । थपिएको अवधिभित्र प्रतिवेदन बुझाउने गरी आयोगले छानबिन गरिरहेको छ ।

मंगलबार पत्र लेख्छौँ
विज्ञानराज शर्मा, प्रवक्ता, आयोग

उहाँहरू (ओली र लेखक) लाई बयानमा बोलाउने निर्णय भइसकेको छ । भोलि (मंगलबार) पत्र लेख्छौँ ।

उहाँ (ओली) बाट गल्ती भएकै छैन भने किन बयान दिन जाने ?
रघुवीर महासेठ, उपमहासचिव, एमाले

भदौ २३ को घटनापछि उहाँ (केपी ओली)ले राजीनामा दिनुभएको हो । फेरि उहाँले गोली चलाउन आदेश दिएको पनि होइन । जब उहाँबाट गल्ती भएकै छैन भने किन बयान दिन जाने रु व्यक्तित्व ड्यामेज गराउन उहाँको बयान लिन खोजिएको हो । आयोगका अध्यक्षको अभिव्यक्ति पनि पूर्वाग्रही छ । झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्तिको अध्यक्षतामा आयोग गठन भएको छ । यस्तो व्यक्तिकहाँ बयान दिन जानुहुँदैन भन्ने हो । वहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग भएको भए पनि एउटा कुरा हुन्थ्यो ।

२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा सरकारले घातक हतियारबाट अन्धाधुन्ध गोली चलाउँदा बानेश्वर क्षेत्रमा मात्रै १७ युवाको ज्यान गएको थियो । उपत्यकाबाहिर दुई युवा मारिएका थिए । एक सयभन्दा धेरै घाइते भएका थिए । कतिपय घाइते अझै अस्पतालमै उपचाररत छन् । सहिद परिवार तथा जेन–जी अगुवाहरूले भने उनीहरूलाई पक्राउ नै गरेर बयान लिन माग गर्दै आएका छन् ।

ओली र लेखकविरुद्ध सहिद परिवारले काठमाडौं प्रहरीमा समेत जाहेरी दिएका छन् । प्रहरीले भने जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र सो विषयमा छानबिन हुने जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भने आयोग निष्पक्ष नभएको भन्दै बयान नदिने घोषणा नै गरेका छन् । बरु जेल बस्न र गोली खान तयार हुने, तर बयान नदिने चेतावनी उनले सार्वजनिक रूपमै दिँदै आएका छन् । लेखक यस विषयमा मौन छन् ।
नवराज मैनाली/नयाँ पत्रिका

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.