सैनिक ऐन, न्यायको निष्पक्षताविरुद्ध प्रधान सेनापति प्रभुराम शर्मा नै परिचालित, सेनापतिको शासन हावी हुँदा विधिको शासन तहसनहस, प्रचण्ड सरकार परीक्षाको कसीमा

no-image

माधव बस्‍नेत - २०८०-११-१३

प्रधान सेनापति प्रभुराम शर्माले सैनिक ऐन, रोलक्रम, प्रतिस्पर्धा, निष्पक्षता र स्वच्छताका आधारमा बढुवा हुने सैन्य संगठनको संस्कार उल्लंघन गरी ‘सेटिङ’ र ‘चिटिङ’ गरेर उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न ‘मुढेबल’ प्रयोग गरिरहेका छन् । प्रधान सेनापति शर्माको ‘हुलहुज्जत’ लाई निगरानी एवं नियन्त्रण गर्नु पर्ने सरकार उनकै दुषित इच्छा पूर्ति गरिदिने ‘रबर स्ट्याम्प’ बन्ने वा नबन्ने धरमरमा छ ।

प्रधान सेनापति शर्माको गैरकानूनी र गैर व्यवसायिक इच्छालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पुरा गरिदिएमा त्यो नेपाली सेनाकै इतिहासमा कालो धब्बा हुने त निश्चित छ नै, सरकारको समेत ठूलो बदनामी इतिहासमा अंकित हुनेछ । विधि, पद्दति मारिएको प्रमाण पनि हुनेछ । अर्थात यो काण्ड शक्ति केन्द्र र सरकारको मिलेमतोमा जुनसुकै तहका अक्षम्य घटना हुन सक्छन् भन्ने प्रमाण बन्नेछ । तसर्थ सरकारले प्रधान सेनापति शर्माको स्वेच्छाचारिता विरुद्ध न्यायिक सभ्यता प्रयोग गर्छ वा ‘रबर स्ट्याम्प’ बन्छ ? पुष्टि हुन धेरै समय लाग्ने छैन ।

किनभने उस्तै प्रकृतिको तथ्य प्रमाण सार्वजनिक हुँदा सेनापति शर्माले उपरथी ताराध्वज पाण्डेलाई जंङ्गी अड्डाभित्र प्राड विवाकको कार्यकक्षमा पाँच घण्टा अनौपचारिक बन्दी बनाएर सैनिक ऐनका दफा, उपदफाहरु देखाउँदै धम्क्याएर, तर्साएर राति नौ बजे राजीनामा दिएर घर जान बाध्य बनाएका थिए । जंङ्गी अड्डा स्रोतका अनुसार शर्मा समूहले पाण्डेलाई कोर्ट मार्शल हुन्छ, जेल जान्छस्, पेन्सनलगायत सेवा सुविधा पाउँदैनस् भन्दै मानसिक यातना दिएर रात्ति नै राजीनामा दिन बाध्य पारेका थिए ।

तर, उपरथी अशोकराज सिग्देलको पाण्डेको भन्दा अझ् गम्भीर प्रकृतिको सबुत सार्वजनिक भइसक्दा पनि शर्माले जसरी पनि उनलाई रथी बढुवा गर्दै आफ्नो उत्तराधिकारी बनाउन हुलहुज्जत गरिरहेका छन् । कानुनविद्हरुका भनाइमा सिग्देलले दुई वर्ष उमेर घटाएको कैफियत पाण्डेको भन्दा अझ ठूलो किर्ते यस अर्थमा होकि पाण्डेले जहिले उमेर सच्चाएका हुन्, त्यही मिति राखेका थिए । तर, सिग्देलले पछि उमेर सच्चाएर पनि ०४३ सालकै मिति राखेका छन् । जुन कानून अनुसार पाण्डेको भन्दा ठूलो किर्ते हो ।

जंङ्गी अड्डाभित्र कानून, विधि, पद्धति मारेर सेनापति शर्माले जित्दा सैन्य संगठनको साख भने निरन्तर हारिरहेको छ । सेना आन्तरिक गुटवन्दी, कलह र असन्तुष्टिको उत्कर्षमा पुगेको छ । अर्थात सेनाभित्र शर्माले ‘रुल अफ ल होइन, रुल अफ म्यान’ लागू गर्दा दुई सय ६० वर्ष लामो वीरताको गाथा बोकेको सैनिक संगठन तहसनहस हुने अवस्थामा छ ।

सिग्देलको उमेर कैफियत विरुद्ध नागरिक दैनिक नेपाली सेनाका उपरथी सिग्देलको जन्म मितिमा कैफियत नै कैफियत | Nagarik News (nagariknetwork.com), हिमालखबर उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार – हिमालखबर :: HimalKhabar – A Complete Nepali Political News Portal, नेपालखबर बढुवा सिफारिस भएका उपरथी सिग्देलको जन्ममिति पनि विवादित, उमेर घटाउन तीनपटक अभिलेख केरमेट | Nepal Khabar, रातोपाटी उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र | News from Nepal – Ratopati, काठमाण्डुपाटी सेनाका दुई सैनिक जर्नेलको जन्ममिति विवादमा, जागिर लम्ब्याउन उमेर घटाएको खुलासा | Kathmandu Pati Kathmandu Pati, बाह्रखरी प्रधानसेनापतिको रोलक्रमका उपरथी अशोक सिग्देलको जन्ममितिबारे अख्तियारमा उजुरी – बाह्रखरी :: Baahrakhari, जनआस्था साप्ताहिक तीनतारे सीताराम जर्साब अनिवार्य बिदामा, अशोकलाई सुम्पिइयो कार्यभार (janaaastha.com), घटना र विचार साप्ताहिक राष्ट्रिय सेनाभित्र पस्यो राजनीति ! सेनाप्रतिको आस्था र विश्वास भङ्ग गरिँदै « Nepali Digital Newspaper (ghatanarabichar.com), शिलापत्र ‘भावी प्रधानसेनापति’को रस्साकस्सीले सेनाभित्र किन भइरहेछन् जन्ममिति काण्डहरू ? :: शिलापत्र संवाददाता :: Shilapatra शिलापत्र – खबरको स्थायी ठेगाना, साझा पोष्ट भावी सेनापति सिग्देल पनि तानिए जन्ममिति विवादमा, अख्तियारमा उजुरी – Sajha Post | साझा पोष्ट, दियो पोष्ट अशोक सिग्देललाई सेनापति बनाउन हतियार माफियाको चलखेल, ६ अर्वको हतियार ठेक्कामा नजर ! (diyopost.com), न्युज ट्वान्टी फो उपरथी अशोकराज सिग्देलको जन्ममितिमा कैफियतै कैफियत -NEWS 24 – YouTube लगायत सञ्चार माध्यमले सप्रमाण समाचार लेखेका त छन् नै, अख्तियारमा समेत दुई–दुई वटा उजुरी परेका छन् । तर ती सबुत प्रमाणलाई पुरै नजरअन्दाज गरेर सेनापति शर्माले सिग्देललाई रथी बढुवाका लागि सिफारिस मात्र गरेका छैनन, मन्त्रिपरिषद्बाट छिट्टोभन्दा छिट्टो निर्णय गर्नु पर्यो भन्दै झुटको टेको लिएर दिनहुँ प्रधानमन्त्रीकोमा धाइरहेका छन् । रक्षा सचिव किरण शर्मा पौडेल र मुख्य सचिव बैकुण्ठ अर्याल (विद्यावारिधि) सँग तारतम्य मिलाईरहेका छन् ।

सिग्देललाई रथी बढुवा गर्न दबाब दिन सेनापति शर्मा अस्ति २० मंसिर बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, २१ मंसिर बिहान १० बजे बसेको मन्त्रिपरिषद्ले सिग्देललाई रथी बढुवा गरेन । लगत्तै शर्माले दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न समय मागेका थिए । प्रचण्डले समय निकाल्न नभ्याएपछि पुनः साँझ बालुवाटार पुगेर दबाब दिएका स्रोतको भनाइ छ । रक्षा सचिव शर्मा र मुख्य सचिव अर्याल सेनापति शर्माको मोहरा बनिरहेका स्रोत बताउँछ ।

नेपाली सेना नेपालको जमिन (भूमि, सीमाना), जनता, जनावर तथा अन्तर्राष्ट्रिय छविको समेत रक्षा कबच हो । सिपाहीहरुका अनेकन कष्ट र बलिदानको जगमा सैन्य संगठनको गर्विलो इतिहास कोरिएको हो । अंग्रेज फौज विरुद्ध सिन्धुलीको लडाईंमा नेतृत्व गर्ने बङ्शु गुरुङ वा नालापानीको लडाईंमा नेतृत्व गर्ने बलभद्र कुँवर वा नेपाल विस्तारको लडाईंमा कीर्तिपुरमा बलिदान गर्ने कालु पाँडेलगायत युद्ध मैदानमा बहादुरीता देखाएका तमाम सैनिकको योगदान सम्झेर सैन्य संगठनको महत्व भुल्नु हुँदैन । नेपाली सेनालाई पारदर्शी, सबल बनाउने, संरक्षण र सम्बद्र्धन गर्ने, किर्ते धन्दा हुन नदिने वा किर्ते धन्दा भएको खुलासा भएपछि त्यस्ता कुडाकर्कटलाई बढार्ने दायित्व सरकार, बहालवाला तथा अवकाश प्राप्त सैनिक, सचेत नागरिक सबैको हो । सबल र पारदर्शी सैन्य संगठनप्रति चासो राख्नु आमनागरिकको कर्तव्य हो । किनभने नागरिकका आशाका प्रमुख केन्द्र सेना, न्यायालयजस्ता संस्था हुन् ।

यो पक्तिकारको चाहना विधिको शासन स्थापना होस्, मूल्यांकनको निष्पक्षता सबैप्रति समान रुपमा कायम रहोस्, न्याय नमरोस् भन्ने बाहेक अरु केही पनि छैन । कोही अमुक पात्रप्रति कुनै आग्रह वा पूर्वाग्रह छैन । यस प्रतिनिधिले व्यक्तिगत रुपमा न ताराध्वज पाण्डेलाई चिनेको छ, न त अशोकराज सिग्देललाई नै । सेनापति प्रभुराम शर्माप्रति पनि कुनै रिसरास, वैरभाव वा आग्रह, पूर्वाग्रह छैन, मात्रै उनको कार्यशैली र प्रवृतिलाई नियाल्ने बाहेक । तसर्थ यस प्रतिनिधिले जंङ्गी अड्डामाथि जे जत्ति कलम चलाएको छ, सैनिक संगठनभित्रको विकृति, वेथिति सुधार होस्, किर्ते धन्दा गरेर जागिर खानेहरु पाखा लागुन् । योग्यहरुले स्थान पाँउन् । अमुक व्यक्तिलाई च्याप्ने घातक प्रवृति अन्त्य होस् भन्ने बाहेक अर्को कुनै स्वार्थ छैन ।

महारथी प्रभुराम शर्माले सेनापतिको शासन हावी गराएर विधिको शासन तहसनहस बनाएकाले मात्र यस प्रतिनिधिले उनको कार्यशैलीगत प्रवृति विरुद्ध कलम चलाउनु परेको हो । जंङ्गी अड्डाभित्र महारथी शर्माले जे जस्ता जोरजबर्जस्ती गरिरहेका छन्, उनको यस शैलीले गम्भीर प्रश्न उठेको छ, प्रधान सेनापतिको जिम्मेवारीमा बसेर पनि शर्मा किन सेनाभित्र विद्रोह गराइरहेका छन् ? प्रधान सेनापति शर्मा स्वविवेकले नै चलेका छन् वा कहीँ कतैबाट परिचालित भइरहेका छन् ?

प्रधान सेनापतिका दाबेदार उपरथी अशोक सिग्देलविरुद्ध पनि अख्तियारमा उजुरी – (nepalmuhar.com)

नागरिकता र शैक्षिक प्रमाणपत्रमा सेनाभित्र दुर्दशा, सरकार, संसद र नागरिक निगरानीमा आएन सेना ! – (nepalmuhar.com)

 


not-found

माधव बस्‍नेत

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औंँला चलाउँछन् ।

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview