Connect with us

समसामयिक

आठमध्ये एक बालबालिका अनलाइन यौन शोषणको जोखिममा

Published

on

अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने गरेका छन् । राष्ट्रिय महिला आयोगले १६ दिने लैङ्गिक हिंसाको अन्तिम दिनको अवसरमा निःशुल्क हेल्पलाइन (११४५) सेवाको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा साइबर ब्युरोका प्रहरी निरीक्षक राधिका ठकुरीले अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने जानकारी दिइन ।

उनी भन्छिन्, “अनलाइन यौन शोषण विश्वव्यापी समस्याका रुपमा देखिएको छ । नेपालमा उजुरी तथा पछिल्ला अध्ययनबाट हामीले के थाहा पायौँ भने अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुन्छन् । ”

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ जनाले साइबर हिंसा सम्बन्धी उजुरी दर्ता भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा हालसम्म छ हजार ८२६ जनाले उजुरी दर्ता भएका छन् । यस किसिमको अपराधबाट बढि बालबालिका प्रभावित हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार यस्तो समस्याले पीडितलाई लामो समयसम्म गम्भीर प्रभाव पार्न सक्छ । अनलाइन यौन दुर्व्यवहार र शोषणका घटनापछि बालबालिका तनाव तथा चिन्तित अवस्थामा देखिने, उदासीपन र खिन्नता महसुस हुने, अनुहार मलिन तथा थाकेको जस्तो हुने, आत्मविश्वासमा कमी, डराउने र तर्सिने, एकोहोरो हुने, अरूलाई घृणा गर्ने र झस्कने, रुने तथा कराउने र अस्वाभाविक व्यवहार देखाउने, आक्रामक व्यवहार देखाउने, झर्कने र रिसाउने, बोल्दै नबोल्ने वा धेरै बोल्ने जस्ता समस्या देखिने गरेको उनको भनाइ छ ।

बालबालिकालाई लक्षित दुर्व्यवहार, ब्यालकमेल, अनुचित सामग्री पठाउन जस्ता क्रियाकलाप बढ्दै गएकाले यस्ता जोमिखबाट बचाउन अभिभावक, विद्यालय सचेत रहन उनले आग्रह गरे । आयोगले सञ्चालनमा ल्याएको निःशुल्क हेल्पलाइन ११४५ आर्थिक वर्ष २०८२/८३ साउन महिना देखि असोज मसान्तसम्म ७३९ वटा महिला हिंसा विरुद्धका उजुरी दर्ता भएको आयोगका सविता बडालले जानकारी दिनुभयो । घरेलु हिंसाका ९७ वटा उजुरी दर्ता भएको उनको भनाइ छ ।

आयोगले ११५ जनालाई परामर्श सेवा प्रदान गरेको थियो । आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा, दाइजो, योनजन्य हिंसा, साइबर हिंसा पिडित महिला, अवसरबाट बञ्चित महिला, बालबालिकाको लागि आयोगले आठ वर्ष अगाडी निःशुल्क हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको जानकारी दिइन ।

आयोगले निःशुल्क हेल्पलाइन सेवाबाट ३६५ दिन नै २४ घण्टा यो सेवा प्रवाह गरेको उनको भनाइ छ । आयोगले विशेषगरी उजुरी तथा उजुरी व्यवस्थापन शाखामा हेल्पलाइनमा आएका समस्या पहिचान गरेर समास्याको समाधान गर्ने गरेको उनको भनाइ छ ।

उनी भन्छिन्, “जातिय ,धनी गरिब सबैले लैङ्गिक हिंसा सम्बन्धी उजुरी आउने गरेका छन् । उजुरी शाखामा हिंसाबाट विक्षिप्त मानसिक लिएर आएका दर्जनौँ समस्या सुनेर यो शाखामा कार्यरत साथीहरुले आफ्नो समस्या जस्तै गरेर समाधान गर्नुहुन्छ । ”
सिर्जना खत्री/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.