प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षाबाट हुनसक्ने क्षतिका लागि आवश्यक सतर्कता अपनाउन र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले उक्त सुझाव दिएका हुन् ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी दिएपछि प्रधानमन्त्री ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनले सर्वसाधारणलाई मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गर्नु भएको छ । सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।