Connect with us

अर्थ

काभ्रेमा विपत्तिः १५१ किसानलाई राहत उपलब्ध गराउन सिफारिस

Published

on

जिल्लामा प्राकृतिक विपत्तिबाट एक हजार दुई सय रोपनी जमिनमा लगाएको कृषि बाली क्षति भएको छ । क्षतिको राहत उपलब्ध गराउन बाग्मती प्रदेश सरकारलाई अनुरोध गरिएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तिका कारण खाद्यान्न, तरकारी बाली, फलफुल र तरकारीका टनेल क्षतिग्रस्त भएका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

कार्यालयले प्राकृतिक विपत्तिका कारण ९ सय ६१ रोपनीमा भएको खाद्यान्न क्षतिको लागि १४ लाख ४१ हजार ५ सय ९०, २ सय ६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षतिवापत सात लाख ८० हजार ६ सय २५ राहतका लागि सिफारिस गरिएको जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले गत वर्ष र यस वर्षको प्राकृति विपतीका कारण कृषि बालीमा क्षति पुगेका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेशस्थित कृषि मन्त्रालयमा सिफारिस गरिएको बताएका छन्। यस्तै उनले करिब तीन हजार फलफुलका बिरुवा क्षतिवापत दुई लाख नौ सय र तीन सय बाँसका टनेल क्षतिवापतको १५ हजारका दरले राहत रकम उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए ।

प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण खाद्यान्न बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी एक हजार पाँच सय, तरकारी बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु दुई हजार पाँच सय राहत उपलबध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्गमिटर ५० र फलफुलका बिरुवा क्षति भएमा प्रतिबोट ५० राहत उपलब्ध गराउने जनाइएको छ ।

कार्यालयका अनुसार प्रदेश सरकारले स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्याङ्कन र जिल्लास्थित राहत ब्यवस्थापन समितिको मूल्याङ्कन गरी पठाएपछि मात्रै प्रदेश सरकारले राहत उपलब्ध गराउनेछ । गत वर्षको बाढीपहिरोका कारण कृषि बालीमा क्षति पुगेका किसानका लागि ७८ लाख राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरिएकोमा प्राप्त ५३ लाख राहत रकम सम्बन्धित पीडित किसानलाई उपलब्ध गराईएको कार्यालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.