Connect with us

अर्थ

सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना

Published

on

काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२÷१०÷१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।”

कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ । “उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ”, सूचनामा उल्लेख छ ।

नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं ३१ स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ स्थित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी वडा नं २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ मा रहेको ग्रेट गङ्गासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फछ्र्यौट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर प्रक्रिया अगाडि बढाएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.