आज (मंगलबार) पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
मन्त्रिपरिषद् बैठक आज लगातार दोस्रो दिन बस्न लागेको हो। हिजो (सोमबार) पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको थियो।
बैठकले संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिले पुनविर्चारका लागि फिर्ता गरेमामा पुनः सिफारिस गर्ने निर्णय गरेको थियो। जुन अध्यादेश राष्ट्रपतिले आज जारी गरिसकेका छन्।
त्यस्तै परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ।
यसैगरी बैठकले भारतसँग जीटुजी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
चौथो निर्णयमा संसद् भवन परिसरमा प्रवेशलगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने भनिएको छ।