केहीबेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । खापुङ एक सातापछि १९ भदौदेखि लागू हुने गरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । बहालवाला महानिरीक्षक दिपक थापाले १८ भदौ राति १२ बजेदेखि अवकाश पाउँदैछन् । थापाको अवकाशसँगै खापुङले प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकालेआज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको ३२औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । यसबेला खापुङ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन् ।
खापुङले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि आवेदन गरेका थिए । तर, त्यस व्याचको अधिकृतहरुले तीन पटक गरी नियुक्तिपत्र पाए । पहिलो पटक ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट बसन्तबहादुर कुँवर आईजीपी भइसकेका छन् ।
दोस्रो पटक १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने । उनी पनि १८ भदौ मध्यरात अवकाशमा जाने भएपछि तेस्रो पटक नियुक्त पाएका खापुङ एकल प्रतिस्पर्धी बनेका थिए ।
खापुङ बहालमै रहदा नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधि ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्। खापुङ विवादरहित प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।