Connect with us

समसामयिक

निसी राज्यः मगरातको निसानी

Published

on

चन्द्रप्रकाश बानियाँ
प्राचीन आर्याव्रत भूमि अफगानिस्तानमा ‘मगरान्’ क्षेत्र छ, यता नेपालको पूर्वमध्यकालीन इतिहासमा ‘मगरात’ क्षेत्र रहेको इतिहास प्रमाण फेला पर्छ । भेरीपूर्व र मस्र्याङ्दीपश्चिमको भूभागलाई त्यस बखत मगरात भनेर सम्बोधन गरिन्थ्यो । त्यस क्षेत्रमा आजसम्म पनि मगर आवादी बाक्लो देखिन्छ । विद्यमान मगर बस्ती र ऐतिहासिक मगरात क्षेत्रको अन्तर्सम्बन्ध अवश्य थियो होला भनेर सहज अनुमान लगाउन सकिन्छ अर्थात् मगरहरूको बसोबास क्षेत्रको नाम मगरात रहेको हुनु पर्छ भन्न सकिन्छ ।

मगर जातिको बसोवास क्षेत्रको नाम मगरात रहन गएको हो कि नेपाल राज्यका बासिन्दालाई नेपाली र भारतका नागरिकलाई भारतीय भने जस्तो मगरात भन्ने ठाउँमा बसोबास गर्ने जातिलाई मगराती भनिएको हो । कालान्तरमा मगरातीबाट मगर बन्न गएको हो भनेर किटान गर्न गाह्रो छ । मगर जातिभित्र मूलतः सात भिन्न थरसमूह रहेका थिए भनेर पश्चिमा इतिहासकारहरूले लेखेका देखिन्छ । झन्डै उस्तै कदकाँटी र सामाजिक रीति परम्परा रहेका मानव समुदायहरूलाई मात्र मगर भनेर चिनिने हुनाले मगर जाति निर्माणको आधार काठमाडौँ उपत्यकाको नेवार जातिको जस्तो होइन भन्ने स्पष्ट हुन्छ । किनकि मगर समुदायको बसोबास भएको ठाउँमा गाउँमा दुईरचार घर कामीको बसोबास अनिवार्य जस्तै देखिन्छ । चौबिसे राज्य पर्वतको सेरोफेरोमा मगरगाउँमा एक दुई घर थकालीको बसोबास पनि देखिन्छ । कतै मगरसँगै खसहरूको पातलो बस्ती पनि देखिन्छ ।

प्राचीनकालमा खस जातिले नाग जातिलाई पराजित गरेर पश्चिम नेपाललगायत कुमाउ, गढवाल, काश्मीरमा कब्जा जमाएका हुन् भनेर केही इतिहासकारले लेखेको पाइन्छ । खसहरूको बाक्लो बस्तीको निकट पूर्वी इलाकामा मगरहरूको बस्ती रहेको छ र लिच्छविकालदेखि नै उक्त इलाका मगरात वा मंग्वर विषयको नामले परिचित रहँदै आएको हुनाले खसद्वारा पराजित नाग जाति पो थियो कि भन्ने अनुमान गर्न सकिन्छ । खस जातिकै कैयौँ थरीहरूले आफूलाई नागका सन्तान भन्ने गरेको परम्परा पनि छ । त्यसैले प्राचीन नाग जातिका सन्तति को हुन् भनेर किटान गर्न सकिन्न । जे होस्, भेरीपूर्वको विशाल इलाका मगरात भनेर चिनिन्छ । मगरात नामको भूखण्डको डोरोमेलो पहिल्याउँदै जाँदा नेपालको इतिहासको पूर्वमध्यकालसम्म पुगिन्छ ।

त्यस कालमा हिमालय शृङ्खलाको काखमा ‘नेपालमण्डल’ नामको राज्य थियो भनेर मानिन्छ ९वज्राचार्य र मल्ल, सन् १९८५, पृष्ठ ७३–७५० । उक्त राज्य निकै ठुलो भूभागमा फैलिएको हुनाले केन्द्रबाट प्रत्यक्ष शासनप्रशासन चलाउन गाह्रो थियो । त्यसैले ‘विषय’ नामका ठुला ठुला प्रशासनिक एकाइ गठन गरिएका थिए । तिनै प्रशासनिक एकाइ ९जिल्ला० मध्येको एउटाको नाम ‘मगरात’ थियो । त्यसलाई ‘मंग्वर विषय’ पनि भनिन्थ्यो । धवलश्रोत र मंग्वर नामका दुई वटा विषय एउटै भूभागमा रहेका थिए । कुनै बेला धवलश्रोतका विषयपतिले मंग्वर विषयको प्रशासनसमेत हेर्ने गरेको ऐतिहासिक प्रमाण फेला पर्ने हुनाले ९श्रेष्ठ, विसं २०५९, पृष्ठ ७० ती दुई विषय आपसमा जोडिएका थिए भन्ने अर्थ लाग्छ भन्ने मत इतिहासकारहरूको रहेको छ ।

लिच्छविकालीन मगरात

लिच्छविकालीन नेपालमण्डलको सीमा पूर्वमा भारतको आसामदेखि पश्चिममा कर्तृपुर ९कुमाउ० सम्म थियो भनिन्छ । मगरात नेपालमण्डलको एउटा विशेष प्रशासनिक क्षेत्र थियो । मगरात धवलश्रोत विषय अन्तर्गत थियो वा अलग थियो भन्ने कुराको खुलासा ऐतिहासिक प्रमाणहरूले गर्दैनन् । धवलश्रोत भन्ने नाम हालको धवलागिरि हिमालको नामबाट रहेको हो भनेर किटान गर्न भने सकिन्न । त्यो नाम तत्कालीन समयमा सेतो पानी बग्ने सेती नदीको हुनु पर्छ भनेर पनि अनुमान गरिन्छ । सर्भे अफ इन्डिया अफिसले सन् १९८० मा प्रकाशित गरेको एउटा नक्सामा ‘मंग्वर विषय’ को उल्लेख भएको छ ९बानियाँ, विसं २०७५, पृष्ठ १७० । नेपाली इतिहासकारहरूले मंग्वर विषयको केन्द्र बागलुङको निसीभुजी थियो भनेर मानेको देखिने हुनाले धवलश्रोत र मंग्वर विषय आपसमा जोडिएका भए पनि अलग अलग प्रशासनिक केन्द्र रहेको पुष्टि हुन्छ ।

लिच्छविकालीन इतिहासमा उल्लेख भएको त्यही मंग्वर वा मङ्ग्वर विषयलाई मगरात भनिएको कुरा निर्विवाद बताउन सकिन्छ । विसं १८९३ को एउटा अभिलेखमा मस्र्याङ्दी नदीदेखि पश्चिम प्युठानसम्मको इलाकालाई ‘बाह्र मगरात’ भनिएको प्रमाण फेला पर्छ ९नेपाली, २०३५, पृष्ठ १४४० । अर्को एउटा लेखोटमा मगरात क्षेत्र ९बाह्र मगरात० भन्दा पश्चिमको इलाकालाई ‘अठार मगरात’ भनिएको भेटिन्छ ९पुन र घर्तीमगर, विसं २०७१, पृष्ठ ८७० । विसं ११५७ ९नेसं २२१० को एउटा अभिलेखमा धवलश्रोतका तत्कालीन सामन्त रामदेवलाई मंग्वर विषयको समेत शासक भनेर उल्लेख भएको देखिने हुनाले ९पन्त र शर्मा, सन् १९७७, पृष्ठ २१० कसै कसैले धवलश्रोत र मंग्वर विषय एउटै प्रशासनिक क्षेत्रको नाम हो भनेर तर्क गर्ने गरेको पनि पाइन्छ ।

यसरी ऐतिहासिक प्रमाणबाट मस्र्याङ्दीपश्चिमदेखि रोल्पा–रुकुमसम्म मगरात क्षेत्र विस्तारित थियो भन्ने स्पष्ट हुन्छ तापनि मगरात नामको एउटै विशाल राज्य थियो अथवा १२ र १८ मगरात नामका ससाना राज्य थिए या सङ्ख्या तलमाथि जे भए पनि त्यस क्षेत्रमा एकभन्दा बढी सानाठुला राज्यको अस्तित्व इतिहासको कुनै एउटा कालखण्डमा थियो भन्ने कुरा प्रमाणित गर्ने कुनै ऐतिहासिक प्रमाण र अभिलेख फेला परेको छैन । यो विषय गम्भीर अध्ययन अनुसन्धानको पर्खाइमा छ भन्नु उपयुक्त हुन्छ ।

खस साम्राज्यमा मंग्वर विषय

१२ औँ शताब्दीतिर सिँजालाई केन्द्र बनाएर पश्चिम तिब्बतको ङारी प्रदेशबाट झरेका नागराज ९नागल्दे० ले खस साम्राज्य स्थापना गरेका थिए । खस राजवंशको सातौँ पुस्ताका अशोक चल्लको राज्यकालमा राज्यको पूर्वी सीमा नारायणी नदीसम्म पुगेको थियो भनेर लेखिएको भेटिन्छ । पालवंशी पुण्य मल्लको समयको एउटा ताम्रपत्रमा खस राज्यको पूर्वी सीमा त्रिशूली नदीसम्म पुगेको देखिन्छ ९खनाल, विसं २०३०, पृष्ठ १र१३० । उपलब्ध खस साम्राज्यकालीन लेखोटहरूमा मगरात वा मंग्वर विषयको उल्लेख भेटिँदैन । त्यसैले खस साम्राज्यकालमा मगरात वा मंग्वर विषय नामको कुनै प्रशासनिक एकाइ, सामन्त शासित प्रशासनिक क्षेत्र वा करद राज्यको अस्तित्व थियो थिएन भनेर किटान गर्न सकिँदैन ।

खस साम्राज्यको विघटनपछि बाइसे चौबिसे राज्य स्थापना हुनुपूर्व मगरात क्षेत्रमा अनेकौँ ससाना राज्य रजौटाको गठन विघटनको सिलसिला निरन्तर चलेको देखिन्छ । बाइसे र चौबिसे भनेर चिनिने राज्यहरूको सङ्ख्या पनि सधैँ निश्चित थिएन । राज्यहरू गाभिने वा खण्डित हुने क्रम निरन्तर चलेको थियो । त्यही सन्दर्भमा ऐतिहासिक मगरातको केन्द्र निसीमा एउटा ससानो मगर जाति शासित राज्य स्थापना भएको लिखत प्रमाण भेटिन्छ । भुजेल मगर ९पुन० हरू राजा रहेको उक्त राज्यको प्रमाणको एक मात्र स्रोत पर्वतको मल्ल राजवंशको वंशावली हो । वंशावली अनुसार चौबिसे राज्य पर्वतको शिलान्यास निसी नामको सानो राज्यमा टेकेर गरिएको थियो । पर्वत राज्य मात्र होइन, बाँकी सबै चौबिसे राज्य प्राचीन मगरात क्षेत्रमै स्थापित भएका देखिन्छन् । स्वभावतः चौबिसे राज्यमा प्रारम्भमा मगरहरूले राज्य स्थापना गरेको र पछि कसैले थर जात फेरेको, कसैको राज्य अरू जातिले हडपेको देखिन्छ ।

पाल्पा राज्यको स्थापना अभय राणाले गरेका थिए । उनको थर राणा लेखिएको देखिन्छ तापनि उनको विवाह मकवानपुरका मगर राजा लक्ष्मण सिंकी छोरीसँग भएको देखिन्छ । उनै अभय राणाका उत्तराधिकारीहरूले पछि सेन थर प्रयोग गर्न थालेको देखिन्छ । पाल्पा, तनहुँ, ऋषिङमा सेनहरूको राज्य स्थापना भएको थियो । घिरिङमा घलेमगरको राज्य स्थापना भएको थियो । भिरकोट, गह्रौँ, ढोर, सतहुँ, नुवाकोट ९स्याङ्जा० मा पहिले खानहरूको राज्य स्थापित भएको थियो । भिरकोटका खान्चाखान र मिचाखानका सन्तानले पछि शाही लेख्न थाले । घिरिङमा देखिने शाहीहरू घलेमगर नै हुन् अथवा भिरकोटे खानका सन्ततिले घिरिङ राज्य लिएका हुन् भन्ने कुरा कतैबाट खुल्दैन । भिरकोटबाटै उक्लेका कास्कीका जतिन खानका सन्तानले शाह लेख्न थाले । कास्कीमा पनि खानवंश स्थापित हुनुपूर्व घलेमगरहरूको राज्य स्थापना भएको थियो । ‘घले मारी शाही रजायो’ भन्ने उखान कास्कीका गाउँघरमा आजसम्म प्रचलित छ ।

बल्ढेङगढी राज्य स्थापना बलिहाङले गरेका हुन् भनेर मानिन्छ । त्यो राज्य पाल्पाभन्दा जेठो थियो । बल्ढेङगढी राज्यको पतन राजा रनवीर रानामगरको समयमा भएको थियो । भिरकोटको खानवंश कास्की पुगेर शाह बन्यो र लमजुङ, गोरखासम्म पुग्यो । बल्ढेङगढी टुक््रयाएर बनाइएका दुई वटा राज्य अर्घा र खाँचीमा पनि रानामगरपछि शाहहरूको राज्य रहेको देखिन्छ । मुसीकोटको राज्य सारुङ मगरहरूको हातबाट सिंहहरूको हातमा पुगेको देखिन्छ । गलकोट पनि मगर राजाको हातबाट पर्वते मल्लहरूले लिएका थिए ।

पैयुँ राज्यको इतिहास रमाइलो छ । पैयुँमा आले, राना, चितौरे र थापा थरका मगरहरूले एक÷एक वर्ष पालैपालो राज्य गर्थे । खण्डखातिरवश ती चार थरीबिच झगडा पर्नाले बनारसतिर झरेर सेन थरका राजा ल्याई स्थापना गरिएको हो भन्ने कथन छ । गुल्मीमा पनि खस शाहहरूको राज्य स्थापना हुनुपूर्व मगरको राज्य थियो । चौबिसे राज्यहरूमध्ये धुर्कोटमा खस मल्लहरू सुरुदेखि नै स्थापित भएको देखिन्छ । बम्घामा शाहहरू देखिन्छन् । इस्मामा अर्जेल भट्ट ब्राह्मणहरूलाई सिंह रावहरूले विस्थापित गरेको देखिन्छ । प्युठानमा दक्षिणबाट उक्लेका चन्दहरूको राज्य स्थापना भएको देखिन्छ ।

पछिल्लो कालखण्डको ऐतिहासिक प्रमाणले सिङ्गो मगरात क्षेत्रमा जनता जनार्दनको आवादी एउटा जातिको र राजवंश अर्को जातिको जस्तो देखिने अनौठो अवस्था देखा पर्छ । स्थानीय जनताको सहयोग र समर्थनबिना बाहिरबाट आउने राजवंश लामो समय टिक्न असम्भव हुन्छ । मगरात क्षेत्रमा बस्ती बाहुल्यता मगर समुदायको तर राजवंश भने ठकुरीहरूको देखिन्छ । त्यसैले मगरात क्षेत्रमा शासन गर्ने ठकुरीहरू को थिए र कहाँबाट आएका थिए भन्ने स्वाभाविक प्रश्न उठ्छ । कैयौँ मगर वंशकै राजाहरूले आफ्नो थर फेरेको स्पष्ट प्रमाण लाग्ने हुनाले भारतमा राज्यलाई ठकुराई भनिने र ठकुराईको मालिकलाई ठाकुर भनिए जस्तै मगरात क्षेत्रका मगर वंशका राजाहरूलाई ठकुरी भनिएको हो कि भन्ने अनुमान गरिन्छ ।

राजाहरूले आफ्ना वंशावलीहरू लेखाउँदा जाति थरको वास्तविकता ढाकछोप गरेका पो थिए कि भन्ने शङ्का उत्पन्न हुन्छ । ‘ठकुरीको कुल खोज्न मगरगाउँ छिर्नु’ भन्ने स्थानीय लोकोक्तिले कुनै ऐतिहासिक समाजिक तथ्यतिर सङ्केत पो गर्छ कि रु माथिको प्रसङ्गले खस साम्राज्यको विघटनपछि मगरातमा मगर राज्यहरू पुनस्र्थापित भएका थिए कि थिएनन् रु थिए भने कति वटा थिए रु कहाँ कहाँ थिए रु ती कसरी मासिए भन्ने कुराको घुर्मैलो कथा कहन्छ भन्न सकिन्छ । चौबिसे राज्यका राजवंशहरूको कुरा छोडेर पर्वत राज्य निर्माणपूर्व गठन भएको भनिएको सानो राज्य निसीको विघटनको इतिहास उधिन्ने प्रयत्न गरौँ ।

निसी राज्य विलोपनको कथा

नागराजले स्थापना गरेको विशाल खस साम्राज्य १५ औँ शताब्दीको मध्यतिर आइपुग्दा छिन्नभिन्न भयो । मल्लवंशको हातबाट पालवंश, पालवंशबाट पुनः मल्लवंशको हातमा फर्केको खस साम्राज्य १५ औँ शताब्दीमा वर्मावंशको हातमा पर्न गयो । मेदिनी वर्माले खस साम्राज्यलाई पाँच टुक्रा बनाएर आफ्नो छोरा भतिजाहरूबिच भगबन्डा गरिदिए यद्यपि उनले पाँच वटा सामन्त राज्य बनाएर सिँजा मान्नुपर्ने गरी दिएका थिए । यसो भए पनि वर्मावंशी सामन्तहरूले राज्य अक्षुण्ण राख्न सकेनन् । रुकुममा मगरात क्षेत्रसमेत हेर्ने गरी पीताम्बर वर्मालाई पठाइएको थियो । उनले रुकुम अन्तर्गतको भूगोल समाल्न सकेनन् । ठाउँ ठाउँमा स्थानीस्तरमा विद्रोहहरू भए । अनेकौँ ससाना भुरेटाकुरे राज्य बन्ने र भत्कने सिलसिला सुरु भयो । उता रुकुमपूर्व पनि त्यस्तै हाल थियो । यसरी कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौबिसे राज्यको उदय भयो ।

मगरात क्षेत्रमा चौबिसे राज्य पुनर्गठित हुने सन्दर्भमा निसीमा भुजेल मगरहरूको राज्य स्थापना भएको थियो । निसी राज्यले कुन कुन भूगोलको कति क्षेत्रफल ओगट्थ्यो भन्ने कुरा कतैबाट खुल्दैन । निसीमा मगर राज्य थियो भन्ने किंवदन्ती चाहिँ जीवित छ । त्यो किंवदन्तीलाई आजपर्यन्त जीवित राख्ने काम पर्वतको राजवंश ‘वम मल्ल’ हरूको वंशावली टिपोटले गरेको छ । वंशावलीहरू पनि कम्तीमा चाररपाँच वटा फेला पर्छन् । ती वंशावली निकै पछि लेखाइएका हुन् । सबैभन्दा पुरानो वंशावली म्याग्दीको रनवाङमा फेला परेको थियो ।

निसीमा राज्य स्थापना गर्ने भुजेलहरू को थिए भनेर खोजी गर्दा यस्तो तथ्य फेला पर्छ । सक संवत् १६९९ मा पर्वतका अन्तिम राजा कीर्तिवम मल्लले बागलुङ मूलपानीका पन्तहरूका नाममा गरिदिएको ताम्रपत्रमा गुरुखलकलाई ‘भूज्यालको सिर्तो’ समेत सबै खालको कर माफ गरिदिएको कुरा परेको छ र साक्षीका रूपमा राज्यका अधिकारीहरूसहित ‘धौलु पुन, रामधर पुन र वासुदेव पुन भूज्याल’ लाई राखिएको छ ९योगी, विसं २०१२, पृष्ठ ८७र८८० । उक्त अभिलेखमा पुनसँगै भुज्याल पनि थपिएको र भुजेलहरूलाई पर्वत राज्यले सिर्तो ९कर० बुझाउने गरेको रहेछ भन्ने कुरासमेत खुल्ने मात्रै होइन, भुज्याल भनेको पुनहरूलाई नै थियो र भुजेल राजा भनेको पनि पुनहरू नै थिए भन्ने पुष्टि हुन्छ ।

निसी राज्य स्थापनाको सन्दर्भमा पर्वते मल्ल वंशावलीबाहेक अन्य लेखोट अभिलेख प्रमाणहरू प्राप्त हुँदैनन् । चौबिसे राज्य पर्वतमा शाहीहरूको राज्य कसरी स्थापना भएको थियो भन्ने सिलसिलामा निसीको प्रसङ्ग वंशावलीमा आउँछ । वंशावली कथाहरू पत्यारिला हुँदैनन् तापनि इतिहास अनुसन्धानका सूत्र बन्न सक्छन् । एउटा वंशावलीमा रुकुमका माहिला राजकुमार आनम्म शाहीले सर्पकोट, अर्णाकोट प्रदेश विजय गर्दै ताकम राज्य स्थापना गरे भनिएको छ । अर्को एउटा वंशावलीमा निसीका राजा आनम्मका नाति डिम्बवम शाहीले ताकम डोलाए भनेर लेखिएको छ । बगाले थापाहरूको एउटा वंशावलीमा पनि निसीका राजा डिम्बवम र ताकमेल थापाहरूबिच शाही राजा र थापा काजी रहने गरी धर्मपत्र भएको कुरा लेखिएको छ । ती दुवै लेखोटमा तिथिमिति परेको छैन ।

समाल वंशावलीमा निसीका भुजेलहरूले आफैँ रुकुम पुगेर आनन्द शाहीलाई मागेर ल्याई राजा बनाए भनेर लेखिएको छ । समाल वंशावलीमा परेको राजा मागेर ल्याउने कथा ब्राह्मणहरूले कास्कीका राजकुमार यशोब्रह्मालाई मागेर लगी लमजुङको राजा बनाएको कथासँग दुरुस्त मिल्छ ९योगी, विसं २०१२, पृष्ठ ६९०। त्यही कथा मोहनबहादुर मल्लले आफ्नो पुस्तक ‘पर्वतको इतिहास, पृष्ठ ४४’० मा उतारेका छन् ।

अ पर्वतका १२ औँ राजा मलेवमको राज्यकालमा उनका दरबारिया पण्डित प्रेमनिधि पन्तले लेखेका शिवताण्डवतन्त्रको टीका ‘मल्लादर्श’ मा रुकुमका राजकुमार आनम्मले ताकम प्रदेशमा आई नयाँ राज्य स्थापना गरेको भनेर लेखिएको छ ९योगी, २०२२, पृष्ठ ४१०० । आनम्म रुकुमबाट आएका हुन् कि निसीबाट भन्ने कुरा भने उक्त लेखोटमा खुल्दैन अर्थात् आनम्मले डोलाएको प्रदेश ताकम निसी अन्तर्गत हो कि ताकम अन्तर्गत निसी हो भन्ने अन्योल उत्पन्न हुन्छ ।

वंशावलीहरूमा भने आनम्म शाही पहिले निसीमा स्थापित भएका र उनका नाति डिम्बवमले ताकम डोलाएको भन्ने लेखिएको देखिन्छ । निसीका भुजेल भनेको को हो रु कुन वंश हो भन्ने कुरा कीर्तिवमको ताम्रपत्रले खुलासा गरे पनि निसीमा राज्य स्थापना भएको थियो कि थिएन रु थियो भने संस्थापक राजा को थिए रु कति पुस्ताले राज्य ग¥यो रु आनन्द शाहीले लडेर निसी जितेका हुन् कि भुजेलहरूले स्वेच्छाले शाहीलाई राज्य सुम्पेका हुन् रु यस्ता प्रश्नको उत्तर कतैबाट मिल्दैन ।

भुजेलहरूले शाहीहरूलाई आफूखुसी राज्य सुम्पे होलान् भनेर पत्याउन सकिँदैन । भुजेलहरू रुकुम पुगेर आनम्म शाहीलाई मागेर ल्याए भन्ने कुरामा शङ्का उत्पन्न हुन्छ किनकि रुकुममा पीताम्बर शाही होइन, पीताम्बर वर्मा सत्तामा थिए । वर्माका छोरालाई ल्याएर निसीमा शाही बनाइयो भन्ने कुरामा शङ्का उत्पन्न हुनु स्वाभाविक हुन्छ ।

राजा मागेर ल्याइयो भन्ने कथा नै अपत्यारिलो देखिन्छ । त्यसमाथि वर्माको छोरालाई किन शाही बनाइयो भन्ने अर्को प्रश्न उत्पन्न हुन्छ । कतै पाल्पाका अभय रानाका सन्तानहरूले कालान्तरमा सेन लेख्न थाले जस्तै भुजेल राजाहरूले नै शाही लेख्न पो थालेका होलान् कि रु निसी राज्य आनम्म शाहीले लडाइँ गरेर जितेका होइनन्, दातव्यमा पाएका हुन् भन्ने प्रसङ्गले पनि उनको वंश कुन थियो भनेर शङ्का गर्नुपर्ने परिस्थिति सिर्जना गर्छ ।

द खस साम्राज्यको विघटनपछि मगरातमा स्थापित चौबिसे राज्यहरू अधिकांशमा मगर राजाहरू स्थापित भएका थिए । कालक्रममा कैयौँ मगर राजाले आफ्नो पुरानो थर, गोत्र परिवर्तन ९अवलम्बन० गरे, कैयौँलाई अन्य थरवंशका राजाहरूले विस्थापित गरिदिएका देखिन्छ । त्यसैले मगरातको केन्द्र निसीमा पनि पहिले मगरवंशको राज्य स्थापना भएको थियो । त्यो वंश भुजेल भनिए पनि पुन थियो भन्ने कुरा कीर्तिवम मल्लको ताम्रपत्रले स्पष्ट गर्छ ।

तर निसी राज्यको क्षेत्रफल कति थियो रु त्यो राज्य अर्णाकोट, निसीकोटमै सीमित थियो कि म्याग्दी (ताकम) सम्म विस्तार भएको थियो रु पुन भुजेल वंशको कति पुस्ताले राज्य गरेका थिए अथवा खस साम्राज्यकालमै सामन्तका रूपमा स्थापित थियो कि थिएन भन्ने कुरा खुलासा गर्ने कुनै लिखित दस्ताबेज र अभिलेखहरूको नितान्त अभाव छ । निसी राज्य र भुजेल राजवंश केवल किंवदन्ती कथामा सीमित छ । किंवदन्ती कथामा इतिहासको भ्रूण लुकेको हुन्छ भनिन्छ । निसीको नियति भ्रूणमै सीमित छ ।
गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.