Connect with us

विचार/विश्लेषण

एमाले निकट प्रेस चौतारीः काम कुरो एकातिर, कुम्लो बोकी चाकरीतिर…

Published

on

प्रेस चौतारी नेपाल मुलुकका जल्दाबल्दा विषयमा मौनता साँधेर ‘करुणा’ को चाकरीमा चुर्लुम्म डुबेको छ ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले हिजो दिउँसो प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्य लिखित ‘करुणा’ माथि ‘छानेचुने’ का थुप्रै सम्पादकहरुलाई पाँचतारे होटल मर्क्योरमा ‘निमन्त्रणा’ गरी विमर्श गर्यो । काठमाडौंको सुकेधारामा अवस्थित ३ अर्ब रुपियाँमा निर्माण गरिएको पाँचतारे होटल मर्क्योर त्यही हो, जसलाई गएको २ माघमा मात्र प्रधानमन्त्री केपी ओलीले नै उद्घाटन गरेका थिए । जानकारहरुका भनाइमा खासमा त्यो तारे होटल शहरी विकासको मापदण्डलाई मिचेर बनाइएको छ । हिजो त्यही होटलमा प्रेस चौतारीले राधिका ‘आमा’ को करुणामाथि विमर्श ‘छेडेको’ हो ।

नेपालीमा एक प्रचलित लोक उखान छ, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी (थिमी) तिर ।’ भक्तपुरमा पर्ने ठिमी नेपाल देशको निकै पुरानो बस्ती हो । यस बस्तीको हिसाब प्रणाली समेत आफ्नै छ । त्यसैले कतिपय पाकाहरुले अझै पनि थिमीले हिसाब भन्छन् । त्यो बस्तीमाथि अनेकौं किंवदन्ती, उखान, लोककथाहरु छन् । त्यहीमध्येको एक हो, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।

उखानको अर्थ सामान्य अक्कल राख्नेहरुले नै बुझ्न सकिन्छ, ‘गर्नु पर्ने तमाम कामलाई बेवास्ता गरेर कम महत्वको काममा केन्द्रित हुनु ।’ प्रेस चौतारी नेपालको ‘धन्दा’ ले ठिमीले पुरानो उखानलाई फेरि एक पटक सत्य सावित गरिदिएको छ ।

राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन । राष्ट्र बैंकको ऐनमा प्रष्ट उल्लेख छ कि, सरकारले बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा एक महीनाअघि नै नयाँ गभर्नर नियुक्त गरेर सार्वजनिक गर्नुपर्नेछ । तर, सरकारले पद रिक्त भएको डेढ महीना बितिसक्दा पनि नियुक्ति प्रक्रिया नै अघि बढेको छैन ।

सर्वोच्च अदालतमा चार जना न्यायाधीश रिक्त छन् । सर्वोच्च अदालतमा न्यायाधीश रिक्त हुनुभन्दा एक महीना पहिले नै नियुक्त गर्नु पर्ने न्याय परिषद् ऐनमा उल्लेख छ । सरकारले आफैंले बनाएको संविधान, ऐनकै ठाडो उल्लंघन गरेको छ । खासमा संविधान उल्लंघनको मुद्दा कसैलाई लाग्नु र दण्डित हुनुपर्ने हो भने सरकारलाई हो । तर, सबै चुप ।

न्यायको हालत दिनदिनै देखिँदैछ । पहुँचविहीनहरु न्यायबाट एकपछि अर्को गरी किनारीकृत हुँदैछन् । आशाको अन्तिम धुकधुकी पनि ‘सेटिङ र चिटिङ’ बाट चल्नु जस्तो विडम्बना अरु के हुन सक्ला ?

धितोपत्र बोर्डका अध्यक्षले जलविद्युत क्षेत्रमा आईपिओ निष्कासन गर्न चाहनेहरुसँग १० प्रतिशतसम्म कमिसन मागेको कुरा छ्यालब्याल छ । हरेक क्षेत्रका कुनाकाप्चादेखि तारे होटलसम्म बिचौलियाहरुको बिगबिगी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब हिनामिना भएको राजेन्द्र लिङदेन नेतृत्वको सार्वजनिक लेखा उपसमितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा त्यो भन्दा ठूलो अनियमितता भएको पूर्वपर्यटन मन्त्री प्रेम आलेले नै सार्वजनिक गरिरहेका छन् ।

त्योभन्दा ठूलो कुरा–अपवादलाई छाडेर पत्रकारिता दलाली र बिचौलियाकरणमा रुपान्तरण भइसकेको छ । प्रश्नहरु मारिँदैछन् अर्थात चरम उपेक्षा गरिँदैछन् । केही वर्षअघिसम्म सञ्चारमाध्यमले उठाएका सवालहरुलाई गम्भीररुपमै लिइन्थ्यो । अहिले स्वार्थ अनुकूल व्याख्या गरेर हेरिन्छ । पत्रकारितामा समेत ‘सिण्डिकेट’ खडा गरिएको छ । सिण्डिकेटभित्र पसेका/बसेकाहरुले उठाएका सामान्य विषयवस्तुलाई पनि ‘वा’ बनाइन्छ, सिण्डिकेटभित्र छिर्न नमानेका/नजानेकाहरुले उठाएका गम्भीर ‘इस्यु’ हरुलाई समेत ‘बाइपास’ गरिन्छ वा उस्तै परे कसैको नुनपानी खाएर लेखिएछ भनेर ट्याग भिराउन बेर छैन ।

प्रेस चौतारी नेपालजस्ता संस्थाहरुले पत्रकारिताको गिर्दो विश्वसनीयतामाथि कार्यशाला चलाउन सक्छन् । राजनीतिको गुम्दो नैतिक स्खलनविरुद्ध विमर्श गर्न सक्छन् । भ्रष्टाचार विरुद्ध बिजेता बन्ने ‘कन्टेन क्रियट’ कसरी गर्ने ? ‘वर्कसप’ गर्ने हैसियत राख्छन् । तर, यी र यस्ता यावत विषयहरुमा प्रेस चौतारी मौन छ । संगठन सञ्जाल विस्तार गर्ने सवालमा पनि प्रेस चौतारी जागरुक छ कि ‘मरेको बिरालो काखी च्यापेर ठिमीको ओरालो लागिरहेको’ छ ? धेरैलाई कुनै खुट खबर छैन ।

पुस्तकमाथि नै विमर्श चलाउने हो भने पनि बजारमा थुप्रै अब्बल पुस्तक प्रकाशित छन् । अर्थ जगत रुग्ण बनिरहेको अवस्थामा हरि रोकाको वैकल्पिक अर्थतन्त्र, निरोज कट्टेलको झापा बिद्रोहको अन्तरकथा, यो किनभने जगजाहेर छ–वर्तमान एमालेको अहिलेको स्वरुप झापा विद्रोहकै विस्तारित रुप हो, मनमोहन अधिकारीको जीवनगाथा, टिम आई गुरुङको आयो गोर्खाली, गोर्खालीको साँचो इतिहास, सुधीर शर्माका भिक्षु, व्यापार र विद्रोह, हिमालपारीको हुरी, सुजाता कोइरालाको म र सानोबुवा, पूर्वप्रधान न्यायाधीश अनूप राज शर्माको को अनूप ? पछिल्लो छिमलमा प्रकाशित यी पुस्तक नेपाली समाज, गम्भीर पाठक र चिन्तकहरुलाई गहिरो प्रभाव पारेका, पार्ने केही प्रतिनिधि नाम हुन् ।

माथि नाम उल्लेख गरेका प्रतिनिधि पुस्तकमाथि प्रेस चौतारीको वर्ग पक्षधरता र सरोकार भएन रे । राधिका ‘मामु’ को पुस्तक जहिले प्रकाशित भयो, त्यही सेरोफेरोमा नेकपा (एमाले) कै निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे (विद्यावारिधि) लिखित आश्रय, सुरक्षा र सम्पर्कका सारथी भुइँमान्छे प्रकाशित भएको छ । संयोग यी दुवै पुस्तक फागुन ०८१ मा प्रकाशित भएका हुन् । पाण्डे अभिलिखित भुइँमान्छे त्यस्तो पुस्तक हो, तत्कालीन झापा विद्रोहदेखि को–अर्डिनेशन केन्द्र (कोके), नेकपा माले, नेकपा एमाले गठन, विस्तार हुँदाको कठोर दमन एवम् भूमिगतकालमा संगठन विस्तारका खट्ने, सेल्टर (आश्रय) दिने, यातना खाने, गाँस कटाएर ख्वाउने ‘पीडित’ हरुको करुण व्याथा (दस्तावेज) समेटिएको छ।

भुइँमान्छे वर्ग पक्षधरता त्यागेर बिचौलियाका सारथी बनेका वर्तमान वर्गोत्थानवादी नेताहरुको विगतको खुट्टी र हुती देखाउने मिहिन आँखीझ्याल हो । जहाँ यसबेला नेकपा (एमाले) मा एकछत्र राज गरिररहेका ‘राजनेता’ ओली बा माथि लेखिएको छ, ‘सशस्त्र संङ्घर्षकै बिचमा राधाकृष्ण मैनाली क्षयरोगको उपचार गर्न जाने भए । सचिवलाई उपचारका लागि बिदा दिँदै २०२९ असारमा कमिटीको सचिवमा खड्गप्रसाद (केपी) ओली चयन भए । वर्ग शत्रु खत्तम अभियानअन्तरगत सशस्त्र विद्रोह जारी नै थियो ।…

…दमनका कारण पार्टी कमिटी लथालिङ्ग हुँदै गयो । त्यसबिच तत्कालीन सचिव केपी ओलीसमेत बेखबर हुने गरी २०२९ फागुन १६–१८ मा झापा जिल्ला सम्मेलन भयो । उक्त सम्मेलनले सिपी मैनालीलाई सचिवमा निर्वाचित गर्यो ।’ (पाण्डे विन्दा, आश्रय, सुरक्षा र सम्पर्कका सारथी भुइँमान्छे, प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. काठमाडौं, नेपाल, संस्करणः पहिलो २०८१ फागनु, पृष्ठ ३४)

यत्ति अंशले ओली बाको अहिले धाक, धक्कुको रफ्फु र विगतको खुट्टी खुट्याउँछ । भुइँमान्छेमा यस्ता पात्र र प्रवृतिहरुका कथा संग्रहित छन्, जसले रोमाञ्चित मात्र बनाउँदैन, आँसु टिल्पिलाउँछन् । तर, ओली नेतृत्वको एमालेमा यसबेला तिनै भुइँमान्छेहरु बिचौलियाको रजगजबाट चरम उपेक्षित छन्, अपहेलित र उत्पीडित छन् ।

थिमीले परम्परागत उखानलाई नयाँ रुपमा प्रस्तुत गरेको यो समाचार र शीर्षक दुवै दास बनिसकेको एमालेको ठूलो पक्तिलाई पच्दैन । मेरो व्यक्तिगत अनुभवका आधारमा भन्न सक्छु, यसै पनि प्रजातन्त्रवादीहरुका तुलनामा कम्युनिष्ट ‘स्कुलिङ’ आलोचना आत्मसात् गर्ने, पचाउने ‘स्कुल’ नै होइन । तर, आलोचना, आत्मालोचना शब्द सबैभन्दा धेरै खर्च गर्ने ‘स्कुलिङ’ चाहिँ हो ।

खासमा भन्ने हो भने प्रेस चौतारी नेपालले राधिका ‘म्याम’ को करुणाभन्दा समानता र मुक्तिको अपेक्षामा जीवन उत्सर्ग गर्न लामवद्ध ‘बिचरा’ हरुको कारुणिकता संङ्ग्रहित भुइँमान्छेमाथि विमर्श चलाएको हुन्थ्यो भने आम मान्छेको ह्दयबाट कता हो कता धेरै धन्यवादको पात्र हुने थियो । तर, शक्तिको पिछलग्गु बन्न लगाम भिरेको चेतनाले त्यसो गर्न नदिनु स्वभाविकै हो । किनकी तत्कालका लागि शक्तिको पछि लाग्दा जति फाइदा हुन्छ, आनन्द आउँछ, सत्यका लागि चुनौती मोल्दा स्तुती पूजा खोज्नेहरुका नजरमा आँखी बनिन्छ । सजिलो बाटो हुँदाहुँदै अफ्ठ्यारो किन रोज्ने, किन खोज्ने ?

झापा विद्रोहको रापतापबाट उठेकी, त्यो विद्रोहमा सहभागी भएवापत अनेक हण्डरठक्कर खाएकी गौरा प्रसाई कोइरालाको आत्मसंस्मरण ‘मेरा जीवनका पाना’ २०६८ मै प्रकाशित भएको थियो । जसमा बागी भएवापत बाँच्न उनले कस्ता–कस्ता अपमान, अश्लिलता भोग्नु/सहनु पर्यो ? केस्रा–केस्रा उधिनिएको छ । एउटी कमलरीले कति संर्घष गरी र पार्टी (एमाले) ले विस्वास गरेर संसदभित्र छिर्न, सचेतक बन्न सकी, शान्त चौधरीले २०७० मा ‘कमलरीदेखि सभासद्सम्म’ प्रकाशित गरेकी थिइन् । यी भुइँ नारीका पुस्तकमाथि प्रेस चौतारीले कहिल्यै पनि विमर्श चलाएन ।

पाणिनि बुक्सले प्रकाशित गरेको ३०२ प्लस पृष्ठको राधिका शाक्यको पुस्तक करुणामा कारुणिकता, सत्य, सूचना छैनन् भन्ने यस पक्तिकारको टिप्पणी हुँदैहोइन । करुणामा शाक्य र ओलीको जोडि बाँधिदाका पृष्ठभूमिदेखि प्रधानमन्त्रीका कुर्सीमा पुग्दासम्मका संर्घषका कथा, पीडा, रोमाञ्चकतालगायत अनेकन सूचना छन् ।

तर, यति चाहिँ भन्न सकिन्छ, भुइँमान्छेले आम खाली खुट्टे मान्छेहरु, हुँदा खाने श्रमिकहरुका यथार्थ पीडा, चिन्ता उधिनेको छ । करुणाले सत्ताको उत्कर्षमा पुगिसकेको एउटा व्यक्तिको पारिवारिक कथा र उनको वरिपरि मात्र बोलेको छ । खास भन्ने हो भने भुइँमान्छे पार्टीमा उत्सर्ग गर्न लाम लागेका सैयौं नेता–कार्यकर्ताको चमत्कारको दस्तावेज हो । करुणा नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप चामत्कारिक व्यक्तिका रुपमा स्थापित गर्न लेखिएको पुस्तकको हो ।

प्रेस चौतारी नेपालले प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेको पाँचतारे होटलमा राखेको करुणामाथिको विमर्श चाकरीको हद हो । जल्दाबल्दा राष्ट्रिय वेथितिमा मौनता साँधेर करुणामाथि मात्र गीत गाउनु विमर्शकै लाज हो । यो हदको चाकरीबाट ज–जसले जे–जे चाहेका छन्, सबैको त्यो सदीक्षा पूरा होस् । बस् ।

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.