राजतन्त्र पक्षधरहरुसँग सत्ता डराएको छ । राजावादीहरुसँगको डरकै कारण उपत्यकाका बल्खु, सिफल र कोटेश्वर-बालकुमारी क्षेत्र मा मात्र प्रर्दशनका लागि खुल्ला गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीसम्म र बल्खु क्षेत्र बाहेक अन्यत्रलाई दुई महीनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।
यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि सरकारले प्रदर्शन गर्ने क्षेत्रलाई साँघुरो बनाउँदै लगेको हो ।
राजतन्त्र पक्षधरहरु अस्ति १५ जेठ देखि आन्दोलनमा छन् । आज १८ गते आइतबार उनीहरुले नक्साल-नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापालाई भेट्न गएका राप्रपा सांसद दीपकबहादुर सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।
आफूहरुको आन्दोलनबाट डराएर सरकारले दमन तथा निशेधित क्षेत्र घोषणा गरेको राप्रपाका एक नेताले बताएका छन् ।