नेपाल मुहार – २०८०-११-१२
वेथितिलाई झन् झन् मलजल
चक्रराज जोशी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको एक वर्ष पनि भएको छैन । प्रहरीभित्र सामान्यत बढुवा भएको एक वर्षसम्म जिल्लाको प्रमुख नदिने परम्परा छ । एक वर्षसम्म ‘टुवाइसी’ खटाएर परिपक्क भएपछि मात्र जिल्ला इन्चार्जको जिम्मेवारीमा पठाउने प्रहरीको परम्परा हो । तर, त्यस विपरीत भर्खरै गरिएको सरुवामा बढुवा भएको ५ महिनामै जोशी काभ्रे जिल्लाको प्रहरी प्रमुख बनेका छन् ।
जोशी कार्य क्षमतामा अब्बल प्रहरी अधिकृत पनि होइनन् । आफ्नो ‘ब्याच’ बाट उनी तेस्रो पटकमा मात्र एसपीमा बढुवा भएका हुन् । उनको ब्याचका कसैले पनि जिल्ला इन्चार्ज पाएका छैनन् । तर, जोशीलाई कुन शक्तिले काभ्रे प्रहरी प्रमुख बनायो ? प्रहरी हेडक्वाटरभित्र जगजाहेर छ, सुदूरपश्चिम जन्मथलो भएका जोशी बढुवा भएको ५ महिनामै काभ्रेको प्रमुख हुन सफल हुनुमा अरु कसैको होइन, प्रधानमन्त्री पत्नी आरजु देउवा राणाकै दवाव र प्रभावको खेल हो ।
बाराको प्रहरी प्रमुखमा सरुवा भएका एसपी दिलिपसिं देउजा कार्य क्षमता शून्य भएका पात्र हुन् । पियक्कड र लाइन मिलाउन भने उनी अब्बल मानिन्छन् । डडेल्धुराकै प्रकाश देउवा आरजु राणा देउवाका स्वकीय सचिव छन् । तिनै प्रकाश देउवामार्फत आरजुसँग ‘लाइन’ मिलाएर दिलिपसिं देउजाले बारा जिल्लाको प्रहरी प्रमुख पड्काउन सफल भएको ‘ओपनसेक्रेट’ छ । स्मरणीय छ, एसपी देउजा राष्ट्रिय अनुसन्धान विभाग हुँदै नेपाल प्रहरीमा छिर्न सफल पात्र हुन् ।
एसपी नान्तीराज गुरुङ जहाँ बस्छन्, त्यहाँ लेखापालको जागिर चट् हुने गरेको छ । चितवन प्रहरी प्रमुखबाट विवादित कार्यकाल सकी ‘हेडक्वाटर’ फर्किएका, जिल्ला प्रहरी कार्यालय भोजपुर, दंगा प्रहरी क्याम्प सुनवल बस्दा मोटो आर्थिक अपचलन गरेका पात्र हुन्, गुरुङ । उनले भोजपुर र सुनवलमा गरेको आर्थिक अपचलनको सम्पूर्ण दोष लेखापालको टाउकोमा बोकाए । परिणाम, आफू कारवाहीबाट जोगिए । निरिह लेखापालको जागिर गयो । उनै गुरुङ पछिल्लो छिमलको सरुवामा कांग्रेस नेता रामहरि खतिवडालाई दस्तुर बुझाएर ‘सेटिङ’ मिलाई मधेस प्रदेशको ट्राफिक प्रहरी कार्यालय पथलैया पुगेका प्रहरी हेडक्वाटरको भनाइ छ ।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो सरुवामा मधेश प्रदेशका जिल्लामा गएका प्रहरी प्रमुखहरु एकाध अपवाद बाहेक अधिकांश कसैको स्वार्थ, भनसुन वा बिचौलियामार्फत रकम बुझाउने बाचापछि जानेहरु मात्र छन् । रौतहट प्रहरी प्रमुृखमा सरुवा भएका प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे, उनी पनि रा.अ. बाटै नेपाल प्रहरीमा छिरेका हुन्, ले मोटो दस्तुर बुझाएर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारबाटै लाइन मिलाएका थिए । घिमिरे विवादास्पद छवीका प्रहरी अधिकृत हुन् ।
त्यस्तै एसपी कृष्ण पंगेनी विभिन्न शक्ति केन्द्रलाई प्रभावमा पारी जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रमुख भएका छन् । यस अघि उनी बारा जिल्ला प्रहरी प्रमुख भइसकेका छन् । पंगेनीले महोत्तरी प्रहरी प्रमुख बन्न नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई ‘नजराना’ बुझाएर वालुवाटारमा आरजुसँग लाइन मिलाएको हेडक्वाटर स्रोत बताउँछ ।
मधेस प्रदेशका जिल्लामा कति कमजोर कार्य क्षमता भएका एसपीहरुलाई प्रहरी प्रमुृख बनाएर पठाइन्छ भन्ने गजब उदाहरण सर्लाही हो । त्यहाँ चार महिना अघि मात्र गृह मन्त्रालयले एसपी कृष्ण प्रसाईलाई प्रहरी प्रमुृख बनाएर पठाएको थियो । तर, चुस्त कार्य सम्पादन गर्न नसकेपछि उनलाई हटाएर प्रवीण पोखरेलको सरुवा गरिएको छ ।
बागमती प्रदेशको सदरमुकाम मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी गोरखामा रहँदा कारबाही परेका सुरेन्द्र गुरुङले पाएका छन् । उनी जहाँ पुग्छन्, त्यहाँ नदी दोहन गर्ने अवैध क्रसर सञ्चालकहरु उत्साही हुने गरेका जानकार बताउँछन् । गुरुङ पनि आरजुलाई नै ‘भेटी’ चढाएर मकवानपुर जिल्ला इन्चार्ज भएको स्रोतको दाबी छ ।
प्रहरी अधिकारीहरुको सरुवा/बढुवा पूर्ण रुपमा ऐन, कानून अनुसार व्यवस्थित मापदण्ड निर्धारण गरी हुनु पर्ने हो । प्रहरीको सरुवा/बढुवा प्रचलित कानून, कार्य क्षमता, व्यवसायिकता, मापदण्ड अनुसार स्वच्छ तवरले हुन्थ्यो भने समाचार बनाउनु वा टिप्पणी गर्नु पर्ने अवस्था आउँदैनथ्यो । अनि कार्य दक्षता र क्षमता भएका इमान्दारहरु कामका लागि हरदम उत्साहित हुन्थे । तर, उनीहरुको सरुवा\बढुवा अपवाद बाहेक कहिल्यै पनि कार्य क्षमताको मुल्यांकन पद्धति निर्धारण गरेर हुने गरेको छैन । पैसा, पहुँच, शक्ति र ‘लाइन’ का आधारमा मात्र हुने गरेको छ । जो निरन्तर छ, हिजो पनि, आज पनि र परिस्थिती हेर्दा संभवत भोलिका दिनमा पनि । प्रहरी संगठनलाई पछिल्लो पटक यस्तो पङ्गु अवस्थामा पुर्याउने दोष पहिलो नम्बरमा प्रधानमन्त्री पत्नी आरजु देउवा जस्ता पात्र, राजनीतिक पार्टीका नेताहरुको छ भने दोस्रो नम्बरमा स्वयं प्रहरी अधिकारीहरुकै छ ।
जानकारका अनुसार पैसा र लाइन विना पद्धतिमा सरुवा\बढुवा नहुनुमा ‘फलानो जिल्लाको प्रमुख हुन पाउँ, म हजुरलाई यति बुझाउँछु, तपाईका पक्षमा यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु, म र मेरो परिवार यति पुस्ते राजनीतिक कार्यकर्ता हुँ’ भन्दै प्रहरी अधिकारीहरु नै रकमको थैली बोकेर नेताहरुको दैलो चहार्ने गरेका छन् । नेताहरुले त उसै पनि चाहने त्यही नै हो । नेपाल प्रहरीका एक जना नायव महानिरीक्षक (डिआइजी) भन्छन्, ‘प्रहरी अधिकारीहरु नै बढाबढमा थैली बोकेर पहुँचवालाहरुको निवास धाउन थालेपछि ‘के खोज्छस् कानो ? आँखा’ भने जस्तै नेताहरुलाई खुँदो पल्टने गरेको छ । अपराध, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी पाएको प्रहरीको सरुवा÷बढुवामा छाडापन, चरम वेथिती हुनुको एउटा कारण चाहिँ प्रहरी आफैं पनि हो ।’ बिडम्वना के भने यही थैली शैलीका कारण इमान्दार प्रहरी अधिकृतहरु सधैं मारमा पर्ने गरेका छन् ।
आरजुको दबदबा
जानकारका शब्दमा जिल्ला प्रहरी प्रमुखहरुको सरुवामा प्रधानमन्त्री पत्नी आरजु कसरी हाबी हुन्छिन भन्ने पछिल्लो रोचक उदाहरण सिन्धुपाल्चोक बनेको छ । जहाँ भ्रष्टाचारको अभियोगमा लामो समय निलम्बनमा परेका एसपी रामेश्वरप्रसाद यादवलाई पठाइएको छ । यादवले प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत रहँदा आफु मातहतकै प्रहरीसँग हप्ता असुल्ने गरेको छानविनबाट प्रमाणित भएको थियो । यसपछि लामो समय निलम्बनमा परेका उनले पहुँचकै भरमा जागिर जोगाएका थिए ।
यादव प्रहरी निरीक्षक हुँदा पनि लागूऔषधको मुद्दामा घुस खाएर निलम्बनमा परेका थिए । उनी पनि राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा छिर्न सफल भएका थिए । तिनै यादव आरजुको दबावमा सिन्धुपाल्चोक प्रहरी प्रमुख बनेर खटिएपछि स्वभिमानी प्रहरी अधिकारीको शिर झुकेको एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) बताउँछन् । उनका अनुसार लामो मोलमोलाइबाट आरजुसँगै लाइन मिलाएपछि मात्र ‘भ्रष्ट’ यादवले सिन्धुपाल्चोक प्रहरी प्रमुख हुने ‘सौभाग्य’ पाएका हुन् ।
आरजुले एसपी मात्र होइन, डिएसपी–इन्सपेक्टरको सरुवामा पनि उसैगरी ‘कब्जा’ जमाएकी जानकारको भनाइ छ । प्रहरी उच्च स्रोतका अनुसार आरजुले डिएसपी प्रमुख हुने जिल्लामा पनि आफ्नो नियन्त्रण कसरी राखेकी छन् ? एउटा उदाहरण हेरौं । केही समय अघि भएको सरुवामा सोलुखुम्बूको प्रहरी प्रमुखमा अन्तिम समयसम्म संजीवबाबु खड्काको नाम थियो । तर, अन्तिममा आरजुले त्यो नाम काटेर सुनिलजंग शाहलाई पठाएकी स्रोत बताउँछ । आरजुले मच्चाएको यस्तो उत्पातको फेहरिस्त लामै छ ।
कतिसम्म भने अस्ति २४ चैतमा भएको इन्सपेक्टर (प्रहरी निरीक्षक) को सरुवामा समेत उनी हाबी भएकी थिइन । यति मात्र होइन, म्याग्दी, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, सोलुखुम्बू, ताप्लेजुङलगायतका जिल्ला प्रहरी जवान र हवल्दारहरुको सरुवामा समेत बालुवाटार र गृह मन्त्रालय नै हाबी भएको प्रहरी मुख्यालयबाट बुझिएको छ । उल्लेखित जिल्लाहरुमा रासनको पैसा बढी हुने, बढुवाका लागि नम्बर बढी पाइने भएकाले बालुवाटार र गृह मन्त्रालय नै हाबी भएको हो । ‘शेरबहादुर देउवा यस अघि प्रधानमन्त्री हुँदा उनकी पत्नी आरजुले प्रहरी संगठनभित्र यति धेरै दबदबा जमाएकी थिइनन् । तर, यस पटक भने आरजुले नाङ्गो नाच देखाएकी छन्’, एक जना उच्च प्रहरी अधिकारी भन्छन्, ‘प्रहरी हेडक्वाटरले एउटा सिपाहीलाई पनि उसको दक्षता, क्षमता, व्यवसायिकता हेरेर सरुवा/बढुवा गर्न पाउँदैन । सबै सूची बालुवाटार र गृह मन्त्रालयबाटै आइपुग्छन् ।’