सुनसरीको चतरा कान्छीचोक छेउ मोटरसाइकल दुर्घटनामा परी बाबु–छोरासहित तीनजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा गएराति दुई मोटरसाइकल एकआपसमा जुध्दा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको हो ।
सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार कालाबञ्जारतर्फ गइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय बिन्दु यादवको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, उपचारका क्रममा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेर घाइते भएकामध्ये इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।