Connect with us

समसामयिक

आज १५ असारः धान दिवस र दही चिउराको पर्व मनाइँदै

Published

on

प्रत्येक वर्ष १५ असार मनाइने धान दिवस यस वर्ष पनि मनाइँदैछ । आज धान दिवस त हो नै, दही चिउरा खाने पर्व पनि हो, आजको दिनलाई किसान र सांस्कृतिककर्मीहरुले दही चिउरा खाएर मनाउने परम्परा छ ।

संस्कृतिविद्हरुका अनुसार असारे चटारोले थकित भएका किसान आज शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता दिने भएकाले शक्ति सञ्चय हुने बलियो जनविश्वास छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा रमेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

राष्ट्रिय धान दिवस

वि.सं १९ मंसिर २०६१ को मन्त्रिपरिषद्को निर्णयबाट १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । यसअर्थमा १५ असारलाई धान दिवसका रुपमा मनाउन थालेको २० वर्ष भयो । नेपाल कृषिप्रधान देश भएकाले अधिकांश मानिसको पेसा खेतीकिसानी नै हो ।

किसानहरुका अनुसार असार मानो रोपेर मुरी उब्जाउने महीना पनि हो । किसानहरु अरु महीनाभन्दा यो महीना वर्षभरका लागि गाँस जुटाउने खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा बलियो छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

कृषि मन्त्रालयले यस वर्ष गत वर्षको भन्दा कम रोपाई हुने आँकलन गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.