Connect with us

समसामयिक

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको मावाखोला पुल ‘काल’ बन्दै

Published

on

मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ। दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।

पुलमुनिको खोलाको धार पूर्वतिर सर्दैछ, पुलसँगै जोडिएको जमिन भासिँदैछ। स्थानीय सरकारदेखि संघसम्म— तीन तहको सरकारकै आँखामुनि पुल भत्किँदै छ। तर, ठूला दुर्घटना नभएसम्म राज्य हल्लिँदैन भन्ने पुरानै ‘निति’ यहाँ पनि दोहोरिएको छ।

उर्लाबारी–९ निवासी टंक थक्लुङ लामो समयदेखि पुलको अवस्थाबारे आवाज उठाउँदै आइरहेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकोमा उनी आक्रोशित छन्। अब पनि सरकारले आँखा चिम्लिरह्यो भने जनताले सडक संघर्ष रोज्छन्, उनले भने, “पुलभन्दा पहिले जनताको धैर्य ढल्छ।’

स्कुल जाने बालबालिका, अस्पताल जाने बिरामी, गर्भवती महिला – सबै यही भत्किँदो पुल हुँदै आवतजावत गर्न बाध्य छन्। ठूला सवारी त रोकिएका छन्, तर साइकल र मोटरसाइकलसमेत ज्यानको बाजी लगाएर मात्र कुदाउँन सकिन्छ।

यो पुल २०७१ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। झन्डै ४ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो ७५.४५ मिटर लामो पुल अहिले आफैं संकट बनेको छ। सुरुमा २०० मिटर लामो बनाउने योजना थियो, तर चौथाइ मात्रै निर्माण भयो।

चार वर्षसम्म मोरङतर्फको सडक नै बनेन। पछि बाटो खुले पनि हरेक वर्ष मावाखोलाले कटान गर्दै आयो। यो वर्ष खोलाको धार पूर्व सरेपछि झापातर्फको भागमा क्षति सुरु भएको हो।

पुलको अवस्थाबारे पटक–पटक आवाज उठाइँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयहरू आक्रोशित छन्। “पुल ढलेपछि आएर निरीक्षण गर्नु भनेको लास गन्नु हो,” स्थानिय समाजसेवी राजन रायमाझीले भने, अहिले नआए, पछि चिहानमा फुल चढाउन नआऊ।

उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान भन्छन् — पुलको मर्मत दमक नगरपालिकाको जिम्मेवारीमा पर्छ। दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले स्थलगत निरीक्षण गरिसकेको र अहिले अल्पकालीन व्यवस्थापनको तयारी भइरहेको बताएका छन्।

दमक–विराटनगर यात्रा छोट्याउने प्रमुख वैकल्पिक मार्ग यही पुल हो। इटहरी–विराटनगर–दमक घुमेर जान ६५ किमी लाग्छ भने यो रुट हुँदै ४२ किमीमै पुगिन्छ। तर, पुलको जर्जर अवस्थाले जनजीवन संकटमा पारेको छ।

“करोडौँ खर्चिएर बनाएको संरचना मर्मत गर्न नसक्ने राज्य, अनि दुर्घटना भयो भने दोषी को ?” अब पनि सरकार मौन बस्यो भने आन्दोलन अपरिहार्य हुने स्थानीयको भनाइ छ। पुलको समस्या केवल संरचनागत होइन — यो राज्य र जनताको सम्बन्धबारेको प्रश्न बनेको छ।

“पुलभन्दा अघि जनताको धैर्य ढल्छ,” टंक थक्लुङ दोहोर्‍याउँछन्।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.