Connect with us

अर्थ

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

Published

on

विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुगेका थिए । रिसालले यहाँ आउँदा आलुखेती मात्र सिकाएनन् । उनले चिया रोप्न पनि सिकाए । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरुले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उनका छोराहरुले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ ।
सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गरेका थिए । हाल सो उद्योगको लगानी आठ करोड रुपैयाँ पुगिसकेको छ । उनीहरुले आफ्नो ६० रोपनी जमिनमा चियाखेती गरेका छन् । चार सय रोपनी जमिन भाडामा लिएर चियाखेती  गरिरहेका छन् ।
गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि एक लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् ।
जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्छन् । माइला शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गरेका थिए । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरद्ले बनाउने गछैन्।
साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउनेसहितका काम उनको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङबारे अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।
यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । “उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ”, गृष्मले भने । हाल सात हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउँछन् । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक सात हजार केजी उत्पादन हुँदै आएको छ ।
“एक वर्षमा स्पेशल टी मोटामोटी सात हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित दुई हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहेनत पर्छ”, माइला छोरा शरद्ले भने, “अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।”
उनका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उनका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य एक लाख रुपैयाँ नेपालीसम्म पर्छ ।
गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ । “यसअघि आठ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ”, गृष्मले भने, “उद्योगमा नियमित काम गर्ने २६ जना छन् । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउनेजस्ता काम भएकाले महिला कामदार बढी छन् ।”
त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरद्ले सुनाए । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उनका अनुसार चार करोड बराबरको अर्गानिक अर्थोडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो । “पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण चार करोड रुपैयाँ छ”, उनले भने ।
जस्बिरे गाउँका सबै घरपरिवारको मूख्य आयस्रोत चियाखेती नै हो । “गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर  छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो”, स्थानीय किसान मिलन मुखियाले भने, “सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।” जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गरेका हुन्।
“भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो”, सूर्य सुब्बाले भने, “त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चियाखेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।”
त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सूब्बाका हजुरबुवा थिए। तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक थिए। अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसे । समय बित्दै जाँदा उनको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताए ।
उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छ । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तरराष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । “जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ”, उनले भने ।
उनीहरु जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले बताए । “हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो”, प्रमुख थापाले भने ।
सरकारको अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । “हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहीँ सरकारले मार्केटिङ गर्दिए हुन्थ्यो जस्तो लाग्छ”, उनले भने, “अनुदानका नाममा एक बेला उन्नति परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पाए जस्तै भयो । हामीलाई ७० लाख जति अनुदान दिइएको थियो ।”
मनोज अधिकारी/रासस

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.