Connect with us

अर्थ

मितेरी सहकारी बचत हिनामिनाः झन्डै अठार करोड बिगो, आठ जना प्रतिवादी

Published

on

ललितपुरस्थित महालक्ष्मीस्थानमा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिनामा झन्डै १८ करोड बिगो दाबीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । आरोपितलाई ठगी, सङ्गठित अपराध, हुन्डी र अभौतिक मुद्रा (क्रिप्टो) कारोबारसमेतको कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको हो । मुद्दामा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारीलाई विपक्षी बनाइएको छ । यस्तै फरार रहेका ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, अर्जुन अराम र प्रितम अधिकारीलाई पनि विपक्षी बनाइएको छ ।

बचतकर्ताको रकम दुरुपयोग गरी हुन्डीमार्फत विदेश पुर्‍याई प्रतिबन्धित क्षेत्रमा लगानी गरेको आरोप प्रतिवादीमाथि लगाइएको छ । अपचलन गरिएको रकम प्रतिवादी ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राईसँग लिएर ज्योति भण्डारीको निर्देशनमा सुवास खत्री तथा अर्जुन अरामले अन्य व्यक्तिमार्फत भारत, सिङ्गापुर, थाइल्यान्ड, कम्बोडियासमेत पुर्‍याइएको अभियोगपत्रमा उल्लेख छ ।

कसुर अनुसार बिगोलाई फरक कायम गरिएको छ । ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुन अराम तथा प्रितम अधिकारीलाई बचत हिनामिनाको चौध करोड २९ लाख २४ हजार ७५४ रुपियाँ ठगी र कमिसनको तीन करोड ४२ लाख ८२ हजार ४२० रुपियाँसमेत बिगो कायम गरिएको छ । कुल बिगो १७ करोड ७२ लाख सात हजार १७४ रुपियाँ कायम गरिएको छ ।

यस्तै सुवास खत्री र अर्जुन अरामले बैङ्किङ कारोबारभन्दा बाहिर गई छ अर्ब ६४ करोड ३२ लाख ६९ हजार ८९ रुपियाँ लेनदेनको विवरणसमेत फेला परेकोले उक्त कार्य राष्ट्र बैङ्क ऐनविपरीत भएको अभियोगपत्रमा उल्लेख छ । बैङ्किङ प्रणालीबाहिरको उक्त कार्यलाई कसुरजन्य भएको भन्दै बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैदको माग गरिएको छ । यस्तो कसुरमा दुवै सजाय हुन सक्ने व्यवस्था राष्ट्र बैङ्क ऐनमा छ ।

यस्तै प्रतिवादी सुवास खत्रीले पक्राउका क्रममा फुटाएको मोबाइलको परीक्षण प्रतिवेदनमा प्रहरीले अभौतिक मुद्रा कारोबारको विवरणसमेत फेला पारेको छ । खत्रीको एकाउन्टमा दुई हजार १४९ युएसडी ब्यालेन्स फेला परेको अभियोपत्रमा उल्लेख छ र उक्त प्रमाणका आधारमा खत्रीमाथि चलनचल्तीमा रोक लगाइएका मुद्रा कारोबार गरेको अभियोग पनि लगाइएको छ । मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार उक्त कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

अभियोगपत्र अनुसार ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुनकुमार आरम तथा प्रितम अधिकारीलाई सङ्गठित अपराध कसुर पनि आकर्षित गरिएको छ । सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुरमा मुद्दा चलाइएको हो ।

मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार ठगी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिबाना हुने कानुनी व्यवस्था छ । ठगीका मतियारलाई मुख्य कसुरदारका आधार सजाय हुने व्यवस्था छ । यस्तै अभौतिक मुद्राको कसुरमा बिगोबाट बढे वा बढाएको सम्पत्ति जफत हुने छ । सङ्गठित अपराधको कसुरमा कसुरदारलाई प्रचलिन कानुनबमोजिमको सजायमा थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ ।

फरार अभियुक्तका रूपमा मुद्दा चलाइएका ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजयकुमार राई र प्रितम अधिकारीको हकमा पक्राउ पुर्जी जारीको मागसमेत अभियोपत्रमा गरिएको छ । आठमध्ये अन्य प्रतिवादी मुद्दासाथ पेस भएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.