कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोर मृत फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।
सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरूको शव निकालेको छ । मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय जेब भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी रहेका छन् । जाबेज र जेब सहोदर दाजुभाइ हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गए मध्ये चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।