सल्यानको शारदा नगरपालिका–१२, रेशमज्युलानजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते सबैको विवरण खुलेको प्रहरीले जनाएको छ ।
तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु. १ ज. २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय शीतलपाटीले बताएको छ । दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।
घाइते भएकाहरूमा शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत (टाउको र दायाँ खुट्टामा चोट) रहेको छ । शारदा–१२ की २१ वर्षीया सीता रावत (टाउको, हातमा चोट) र उनकी ७ वर्षीया छोरी डोल्मा रावत (टाउकोमा चोट) छ ।
त्यस्तै, शारदा–१५ की २४ वर्षीया साबित्रा भण्डारी (टाउको, ढाडमा चोट), त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी (टाउको, खुट्टा चोट), शारदा–१५ की ८ वर्षीया शिरीसा भण्डारी (टाउको, खुट्टामा चोट) र २३ वर्षीया दीपा रावत )टाउकोमा चोट), शारदा–१२ की २१ वर्षीया जानकी गिरी (छाती, खुट्टामा चोट) रहेको छ ।
सोहीअनुसार शारदा–१३ का २७ वर्षीय गिराराज गुरु (कन्चट, हातमा चोट) र उनका ९ वर्षीया छोरी रियाराज, ५ वर्षीय रितुराज गुरु (सामान्य अवस्था), शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी (टाउकोमा चोट), उनका ९ वर्षीया छोरी डिला (खुट्टामा चोट) र ६ वर्षीया छोरी सुमित्रा )टाउकोमा चोट), शारदा–१ की २१ वर्षीया सम्झना थापा (टाउको, खुट्टामा चोट) र उनकी १८ महिनाकी छोरी समारिका (सामान्य अवस्था), शारदा–१३ का १६ वर्षीय जीवन नेपाली (टाउकोमा चोट) रहेका छन् ।
यसैबिच गम्भीर घाइते भएका शारदा नगरपालिका–१२ की ३४ वर्षीया पार्वती बुढा (शरीर भित्री भागमा चोट) र शारदा नगरपालिका–१३ की ३५ वर्षीया झुपी नेपाली (ढाडमा चोट), नेपालगन्ज रेफर गरिएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय शीतलपाटीका अनुसार दुर्घटनाग्रस्त जिप चालक शारदा–६, मदनकाडाका २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक नरेशसिंह ठकुरीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।
जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताएका छन् उनका अनुसार गम्भीर दुई जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।