नेकपा (माओवादी केन्द्र) जेनजी आन्दोलनका कारण आगलागीबाट ध्वस्त पार्टी कार्यालयमै संविधान दिवस मनाएको छ । आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक सभा आयोजना गरी माओवादीले संविधान दिवस मनाएको हो ।
संविधान दिवस कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुको उपस्थिति थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, अग्नी सापकोटा, उपमहासचिवहरु गिरीराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतसहित नेताहरु सहभागी थिए।
सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७२ सालमा संविधान निर्माण हुँदा आफूहरूले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरेको भए जेनजी आन्दोलन नै नहुने दाबी गरेका छन्।
‘२०७२ सालमा संविधान बनाउने बेला हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गरेका थियौँ। त्यो नगर्दा अहिले यो अवस्था आएको हो,’ प्रचण्डले भने
‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो। बहस भयो। सहमति भएन। त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो’, प्रचण्डले भने, ‘जेनजीले आन्दोलन गर्नु पर्थेन। यति ठूलो क्षति हुने थिएन।’