Published
49 minutes agoon
By
Nepal Muhar
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै कानुनी विवाद टुंगिएको देखिए पनि राजनीतिक रूपमा भने विवाद अझै चर्किएको छ । तीनवटै समूहले छुट्टाछुट्टै भेला, बैठक र शक्ति सञ्चयका गतिविधि तीव्र पारेका छन् । विवादका मुद्दा र गतिविधिका स्वरूपले तत्काल कांग्रेसको आन्तरिक शक्ति–संघर्ष तत्काल समाधान हुनेतिर गएको देखाएको छैन ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले संस्थागत गतिविधि जारी राखेकै वेला १४औँ महाधिवेशनको संस्थापन पक्ष र डा. शेखर कोइराला समूह समानान्तर गतिविधिसहित शक्ति सञ्चयमा छन् । हाल कांग्रेसमा गगन थापा नेतृत्वको संस्थापन पक्ष, १४औँ महाधिवेशनबाट आएको संस्थापन समूह र शेखर कोइराला नेतृत्वको इतरपक्ष सक्रिय छन् । सहमति, समानान्तर गतिविधि वा विभाजन कांग्रेसका सम्भावित परिदृश्य छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको निर्णयविरुद्ध पुनरावेदनको तयारी गर्दै राजनीतिक रूपमा पनि सशक्त उपस्थिति देखाउने रणनीति लिएको छ । नेता शेखर पक्षधर पनि रणनीतिक छलफलमा छ । दुवै पक्षले पार्टी एकताको विषय सभापति गगन थापाको हातमा रहेको औँल्याएका छन् । उनीहरू अझै ‘पर्ख र हेर’को रणनीतिमा छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीमा मंगलबार आफूनिकट नेताहरूको भेला गरेका छन् । भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरू सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, उमाकान्त चौधरीसहित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापति सहभागी भए ।
भेलालाई सम्बोधन गर्दै खड्काले पार्टी एकतामा जोड दिँदै विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । उनका अनुसार यही प्रक्रियाले पार्टी विभाजनको अवस्था सिर्जना गर्यो र चुनावी परिणाममा समेत असर पार्यो । भेलालाई सम्बोधन गर्दै खड्काले आफूहरू पार्टी एकताबद्ध रहोस् भन्ने पक्षमा रहेको बताएका छन् ।
खड्काले कांग्रेसलाई कमजोर बनाउने रणनीतिअन्तर्गत नै विशेष महाधिवेशन गराइएको दाबी पनि गरेका छन् । ‘कांग्रेसलाई विशेष महाधिवेशनको नाममा दुई फ्याक गराइयो । आधा कांग्रेस बाहिर, आधा कांग्रेस विशेष महाधिवेशनमा’ खड्काको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘रास्वपाको करिब दुईतिहाइ आउनुमा पनि विशेष महाधिवेशनको हात छ । विशेष महाधिवेशन नभएको भए रास्वपाको यति धेरै सिट आउने थिएन । कांग्रेसको कम्तीमा ७० सिट आउँथ्यो ।’
विधि, विधान र प्रक्रियाविपरीत विशेष महाधिवेशन भए पनि मान्यता दिने काम भएको भन्दै पुनरावेदनमा जाने विषयमा कानुन व्यवसायीसँग छलफलमा रहेको खड्काले जानकारी गराएका छन् । ‘लोकतान्त्रिक पार्टी भएकाले हामी अदालतको निर्णय मान्छौँ । तर, निर्णयमा गरिएको व्याख्या हामीलाई चित्त बुझेको छैन । हाम्रो पुनरावेदनमा जाने वैधानिक बाटो बाँकी छ,’ खड्काको भनाइ उद्धृत गर्दै एक निवर्तमान केन्द्रीय सदस्यले भने ।
उनले पार्टीका सबै पक्षलाई समेटेर लैजाने जिम्मेवारी सभापति र उपसभापतिको भएको पनि बताएका छन् । ‘हामी पार्टी एकताबद्ध रहोस् भन्नेमा छौँ । त्यो नेतृत्वको हातमा छ । त्यो जिम्मेवारी सभापति र उपसभापतिको हो । उहाँहरूले पार्टी एकताबद्ध बनाउन चाहनुपर्यो,’ खड्काले भने ।
उनले सभापति थापासँग पार्टी एकताकै विषयमा छलफल भएको पनि जानकारी दिए । ‘उहाँ मेरो निवासमा आउनुभएको थियो । समसामयिक राजनीतिक साथै पार्टी एकताबद्ध बनाउने विषयमा कुराकानी भयो । सहमतिको खाका ल्याउन भनेको थिएँ, अहिलेसम्म आएको छैन,’ खड्काको भनाइ थियो ।
१५औँ महाधिवेशन गर्न विशेष महाधिवेशनबाट आएको अहिलेको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मिलाउनुपर्ने खड्काको प्रस्ताव छ । दुवै समिति मिलाएर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने, क्रियाशील सदस्यता व्यवस्थापन समितिदेखि निर्वाचन समितिसम्ममा सबै पक्षको प्रतिनिधित्व हुनुपर्ने खड्काको प्रस्ताव छ ।
नेता मीनबहादुर विश्वकर्माले निर्वाचन समीक्षा, निर्वाचनमा पराजयको कारण खोज्ने, १५औँ महाधिवेशन कसरी सम्पन्न गर्ने र पार्टी एकता कसरी कायम राख्ने भन्ने विषयमा छलफल गरेको बताए । ‘निर्वाचन समीक्षा, पार्टी पराजयको कारण र १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्नेबारे छलफल हो,’ उनले भने ।
खड्काको भेलामा सहभागी नभएको शेखर कोइराला समूह अलग्गै मोर्चाबन्दीमा छ । खड्काको भेलामा निवर्तमान उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियारलगायत नेता सहभागी भएनन् । सर्वोच्चले विशेष महाधिवेशन पक्षधरलाई मान्यता नदिएसम्म भने शेखर पक्ष पनि खड्काले बोलाएको भेलामा सहभागी हुँदै आएको थियो ।
सर्वोच्चको आदेशपछि भने कोइराला पक्ष छुट्टै छलफलमा छ । कोइरालाले यही १७ वैशाखमा आफू पक्षधर नेताहरूको भेला बोलाएका छन् । बागमती प्रदेशस्तरीय भेलाको तयारी रहेको उनीपक्षीय नेता जीवन परियारले बताए । ‘बागमती प्रदेशस्तरीय भेलाको तयारीमा छौँ । निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला नेतृत्व बस्छौँ,’ उनले भने ।
असन्तुष्ट पक्षलाई समेटेर लैजानु थापाका निम्ति मुख्य चुनौती बनेको छ । इतरपक्ष राजनीतिक रूपमा अघि बढेको स्थितिमा पेलेर जान खोजे पार्टी विभाजनको जोखिम छ । कांग्रेसमा गुटगत राजनीतिक नौलो होइन । यसअघि कांग्रेसमा गुटगत भागबन्डा हुँदै आएको थियो । विशेष महाधिवेशनमा पनि एक पक्ष मात्रै सहभागी थियो । तर, संस्थापन पक्षले अब गुटबन्दी नचल्ने चेतावनी दिँदै आएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसे सबैलाई समेटेर जान तयार रहेको बताउँछन् । ‘१५औँ महाधिवेशन सबै मिलेर सफल पार्नुपर्छ । हामी सबैलाई समेटेर जान तयार छौँ । आजको स्थितिमा झन् एकताबद्ध कांग्रेसको खाँचो छ । यो तथ्यलाई सबैले मनन गर्नुपर्छ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘गुटबन्दी गरेर कहीँ पुगिँदैन । १५औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर नेतृत्वमा पुग्ने बाटो खुला नै छ ।’
राजनीतिक विश्लेषक माधव न्यौपानेले पुरानो प्रजातान्त्रिक राजनीतिक दल कांग्रेसमा अप्ठ्यारो परेको स्थितिमा नेतृत्व लिने र एक ढिक्का भएर अगाडि बढेको इतिहास रहेको बताए । उनले नेताहरूको परिपक्वता र राजनीतिक दूरदृष्टिमा कांग्रेसको अगाडिको बाटो तय हुने उनको भनाइ छ ।
‘जेन–जी मुभमेन्टको पछाडि राजनीतिक दलका शीर्ष नेतृत्वको विकल्पको खोजी भएको थियो । आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशन भयो । कांग्रेस परिपक्व भएर एक ढिक्का हुनुपर्ने थियो । गगन थाप पक्षधरले जेन–जी आन्दोलनलाई आत्मसात् गर्न सक्यो, तर अर्को पक्षले आत्मसात् गर्न सकेन । यही कारणले कांग्रेसमा दुईलाइन शक्ति–संघर्ष देखिएको छ,’ उनी भन्छन्, ‘राजनीति भनेकै शक्तिको संघर्ष हो । सहमति र एकता, शक्तिका लागि समानान्तर गतिविधि र औपचारिक विभाजनको विकल्प कांग्रेसमा छ । यीमध्ये कुन बाटो रोज्ने भन्ने हो । नेताहरूको परिपक्वता र राजनीतिक दूरदृष्टिमा त्यो निर्भर रहन्छ । मेरो बुझाइमा कांग्रेस विभाजित हुँदैन ।’
प्रेम गौतम/नयाँ पत्रिका
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, दलको नेता छानिने संभावना !
कांग्रेसले संसदीय दलको नेता निर्वाचनबाटै छान्ने
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
कांग्रेस भन्छ, ‘सरकार चयनमुखी नहोस्’
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने