काठमाडौँमा आज असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो अपरान्ह एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा आजदेखि सुरु गर्न लागेको जानकारी दिएको हो । उक्त सेवा जेनजी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले भोलि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सेवा (सिफ्ट) मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए । जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ ।
राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित भई सहयोग गरिदिनसमेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।