त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापनाको क्रममा दिइएको जग्गा अतिक्रमण तथा सीमा मिचिएका तथ्य सार्वजनिक भइरहँदा केही स्थानका जग्गाको अझैसम्म नामोनिसानसमेत भेटिएको छैन ।
२०१३ सालमा त्रिवि स्थापनाका लागि ललितपुरको लुभु, काठमाडौँको छाउनी, स्वयम्भू, महाराजगन्ज, काभ्रेको नगरकोटलगायतका स्थानमा जग्गा अध्ययन गरिएको थियो, जसमध्ये तत्कालीन श्री ५ मुमा बडामहारानीहरू कान्ति राज्यलक्ष्मी शाह र ईश्वरी राज्यलक्ष्मी शाहले ललितपुरको लुभुमा ३७५ रोपनी निजी बिर्ता जग्गा विश्वविद्यालय स्थापनाका लागि दिएका विभिन्न अभिलेखबाट देखिन्छ । तर यो जग्गा अहिले कुन ठाउँमा छ र कसले भोगचलन गरिरहेको छ भन्ने सामान्य जानकारी कसैलाई पनि छैन ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले पनि यसलाई उजागर गरेको छ । तत्कालीन अवस्थामा बडामहारानीहरूले जग्गा दिएको विषय २०१३ साल असार १७ गते गोरखापत्र दैनिकमै समाचार छापिएको छ । “त्रिविलाई जग्गा दिइएको भनेको क्षेत्रको धरातलीय यथार्थ बुझ्न विश्वविद्यालय कमिसनले २०१३ वैशाख २ गते निरीक्षण गरेको त्रिविकै पहलमा लेखिएको विश्वविद्यालयको इतिहास (२०१६–२०२०) सम्बन्धी पुस्तकमा उल्लेख छ,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन अनुसार उक्त स्थानका लागि आवश्यक पर्ने पानी गोदावरी खोला, ढुङ्गेमती, गोपालडोल, श्री ढुङ्गमतीबाट पाइप बिछ्याउनका लागि पाइपलाइनको दुरीसमेत गणना गरेको र त्यसरी दिइएको जग्गा गोदावरी नौधाराबाट ३.५ माइल उत्तरपश्चिममा र गुन्डुमती १.५ माइल दक्षिण पश्चिम कुनामा रहेको विश्वविद्यालयको इतिहाससम्बन्धी पुस्तकमा उल्लेख गरिएको छानबिन समितिले प्रस्ट पारेको छ । साथै २०१३ असार १४ गते कमिसनको नारायणहिटीमा बसेको बैठकले उक्त जग्गामा आवासीय विश्वविद्यालयसमेत स्थापना गर्न सकिने र उक्त जग्गा विश्वविद्यालयको कार्यमा राखिदिने निर्णय गरिएको विविध अभिलेखबाट पुष्टि भएको समितिको प्रतिवेदनमा छ । तर समितिले गत वर्ष उक्त जग्गाबारेमा स्थानीयको सहयोगमा लुभु क्षेत्रको अवलोकन गरे पनि जग्गा यकिन हुन नसकेको बताएको छ । नापी कार्यालय ललितपुरको फिल्डबुकमा पनि साबिक लुभु पञ्चायत वडा नं। ९ (क) का विभिन्न कित्ताका जग्गा किसानले कमाइरहेको देखिएको थियो । २०२१ साल फागुनको नापी अनुसार जग्गावाला किसानको नाम, थर, वतन महलमा श्री ५ जिजुमुमा बडामहारानीको निजी बिर्ता जग्गा भनी उल्लेख भएको प्रमाण भेटिएको थियो ।
साथै किसानको बेहोरामा पनि यो जग्गा श्री ५ बडा महारानीको बिर्ता हो मैले जोती खाएको भन्ने बेहोरा उल्लेख भएको पनि समितिका सदस्य बल्लभ अधिकारीले जानकारी दिए । यी सबै तथ्य केलाउँदा उक्त जग्गाको भौगोलिक अवस्थिति खोजबिन गर्न अझै केही समय लाग्ने देखिएको तर समितिको कार्यावधि सकिएकाले पूरा गर्न नसकिएको समितिले जनाएको छ । त्रिविले छुट्टै खोजबिन समिति गठन गरी थप अध्ययन गर्न उपयुक्त हुने सुझाव समितिले दिएको छ । त्यस्तै विद्वत् शिरोमणि हेमराज शर्माको स्मृतिमा उहाँका छोरा केशरीराज पाण्डे र बुहारी किरणकुमारी पाण्डेले त्रिविलाई दिएको काठमाडौँ कपनको जग्गाबारे पनि त्रिवि पदाधिकारी अनभिज्ञ देखिएका छन् । समितिका अनुसार पाण्डेको स्मृतिमा कपन गाउँ पञ्चायत वडा नं। ७ (क) को कित्ता नं। १९ को २९ रोपनी आठ आना जग्गा त्रिविलाई दिएको देखिन्छ ।
२०४६ सालको त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं। १८४६ ले पाण्डे परिवारले दिएको जग्गा लिने र निजसँग लालपुर्जा र खरिदबमोजिमको जग्गा छोडपत्र गराई रजिस्टे«सन पास गराई लिने स्वीकृति भएको देखिन्छ तर विश्वविद्यालयको प्रशासन महाशाखाबाट कार्यकारीको निर्णय कार्यान्वयन गर्नेतर्फ चासो नदिएको समितिको ठहर छ ।
समितिले यस जग्गाका सम्बन्धमा मालपोत कार्यालय चाबहिलसँग समन्वय गरेर कम्प्युटर अभिलेखमा खोजी गर्दा नभेटेपछि पुरानो लगत हेरेर खोजी गरिदिन पत्राचार गरेको थियो । तर यही अवधिमा समितिको कार्य अवधि सकिएका कारण थप तथ्य केलाउन नसकिएको सदस्य अधिकारीले बताए । यस विषयमा पनि त्रिविले छुट्टै समिति बनाएर खोजी गर्नुपर्ने सुझाव दिइएको छ ।
यसअघि त्रिविले सम्पत्ति सङ्कलन, संरक्षण तथा व्यवस्थापनबारे अध्ययन गर्न, २०७२ चैत ४ गते प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले नीति, नियम र समन्वयको अभाव, दक्ष जनशक्तिका कारण अभिलेख र भण्डारणको समस्या रहेको औँल्याएको थियो ।
सूर्यप्रसाद पाण्डे/गोरखापत्र