Connect with us

अन्तर्राष्ट्रिय

बेलायतका राजाका भाइको ‘राजकुमार’ उपाधि खोसियो, रोयल लज छाड्नुपर्ने

Published

on

बेलायतका राजाका भाइ राजकुमार एन्ड्रयूलाई ‘राजकुमार’ उपाधिबाट मुक्त गरिएको छ । उनले आफ्नो विन्डसरस्थित निवास, रोयल लज पनि छाड्नुपर्ने भएको छ । यौन अपराधी जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण हप्तौँदेखि भइरहेको छानबिनपछि दोषी ठहर भएकाले उनीमाथि यो निर्णय आएको हो ।

गएराति बकिंघम प्यालेसले जारी गरेको विज्ञप्तिमा राजाका भाइ एन्ड्रयू अबदेखि एन्ड्रयू माउन्टब्याटन विन्डसर नामले चिनिने उल्लेख छ । आफ्नो व्यक्तिगत जीवनबारे बढ्दो प्रश्नहरूको सामना गर्नुपरेपछि एन्ड्रयूले यसै महिनाको सुरुमा ‘ड्यूक अफ योर्क’सहित आफ्ना अन्य शाही उपाधिहरू स्वेच्छाले त्यागेका थिए ।

यस महिनाको सुरुमा प्रकाशित भएको एउटा मरणोपरान्त संस्मरणमा भर्जिनिया गुइफ्रेले किशोरावस्थामा राजकुमार एन्ड्रयूसँग तीन फरक अवसरमा यौन सम्पर्क भएको पुनः दाबी गरेकी थिइन् । एन्ड्रयूले भने सधैँ यी आरोपहरू अस्वीकार गर्दै आएका छन् । यो पछिल्लो घटनाक्रममा प्रतिक्रिया दिँदै गुइफ्रेको परिवारले भनेका छन्, “उनी आफ्नै सत्य र असाधारण साहसका कारण एक बेलायती राजकुमारलाई ढाल्न सफल भइन् ।” गुइफ्रेले यसै वर्षको सुरुमा आत्महत्या गरेकी थिइन् ।

दरबारले विज्ञप्तिमा भनेको छ, “राजाले आज राजकुमार एन्ड्रयूको शैली, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया सुरु गर्नुभएको छ ।” उपाधि बाहेक, दरबारले रोयल लजमाथिको लीज त्याग्न औपचारिक सूचना दिइसकेको जनाएको छ । अब एन्ड्रयूलाई स्यान्ड्रिंघम इस्टेटमा रहेको एउटा निजी आवासमा सारिनेछ, जुन राजा चार्ल्सद्वारा निजी रूपमा वित्तपोषित हुने बताइएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, “उनीमाथि लागेका आरोपहरू उनले अस्वीकार गरिरहेका भए पनि यी कदमहरू आवश्यक ठानिएको छ ।” दरबारले सबै प्रकारका दुर्व्यवहारका पीडितहरूलाई समर्थन प्रकट गरेको छ । एन्ड्रयूका दुई वयस्क छोरीहरू युजिनी र बियट्रिसले आफ्नो राजकुमारी उपाधि कायम राख्नेछन् । एन्ड्रयू सिंहासनको उत्तराधिकार सूचीमा आठौँ स्थानमा यथावत् छन् ।

उनकी पूर्वपत्नी सारा फग्र्युसनले पनि रोयल लज छाड्ने भएकी छन् । उनी आफ्नै बसोबासको व्यवस्था मिलाउने तयारीमा छिन् । यो महिनासम्म उनले ‘सारा, डचेस अफ योर्क’ उपाधि कायम राखेकी थिइन् । तर एन्ड्रयूले ‘ड्यूक अफ योर्क’ उपाधि त्यागेपछि उनी आफ्नो विवाहपूर्वको नाम ‘फग्र्युसन’मा फर्किएकी छन् । यो निर्णय गर्नुअघि दरबारले सरकारसँग परामर्श गरेको थियो । सरकारले पनि उक्त कदमलाई समर्थन जनाएको बताइएको छ ।
बीबीसी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.