अमेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानीको विजयले अमेरिकी राजनीतिमै नयाँ तरङ्ग ल्याएको छ । विश्वभर चर्चा चुलिएको छ ।
न्युयोर्कका लागि उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलको मेयर बनेका छन् । डेमोक्रेटिक उम्मेदवार ममदानीको विजयसँगै उनले एकसाथ तीन वटा इतिहास रचेका छन् । पहिलो, ३४ वर्षका ममदानी न्युयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुन् । दोस्रो, उनी न्युयोर्कका पहिलो मुस्लिम मेयर बने भने तेस्रो, उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एसियाली मूलका नागरिक हुन् । त्यस्तै रिपब्लिकन पार्टीबाट कर्टिस स्लिभा मेयरका उम्मेदवार थिए । उनले पराजय स्वीकार गर्दै ममदानीलाई शुभकामना दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
“एउटा राजनीतिक वंशलाई उखेल्न हामी सफल भयौँ,” ममदानीले मञ्चबाट भनेका छन्, “आज म जे छु, त्यो तपाईंहरूले बनाइदिनुभएको हो ।” ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गर्दै भने, “जसले मलाई सफल बनाउन सक्छन्, उनीहरू नै मलाई पराजित गर्न पनि सक्छन् ।” ट्रम्पले चुनावअघि ममदानीलाई मत नदिन अपिल गरेका थिए । ममदानीले निःशुल्क बस सेवा, शिशु स्याहार केन्द्र र बढ्दो महँगी नियन्त्रणलगायत आफ्ना सबै चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
न्युयोर्क अमेरिकाको राजनीतिक केन्द्र हो भने विश्वमै नाम लिइने मुख्य सहरसमेत हो । ममदानीको यो विजयले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीका रूपमा समेत देखिएको छ ।
ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनमा भने चिन्ताको घण्टी बजाएको बिबिसीले जनाएको छ ।
व्यापारिक अभिजात वर्ग, रूढीवादी मिडिया र ट्रम्प आफैँले पनि उनको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आएका थिए । तथापि ती सबै आलोचनाबिच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ । “कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने त्यो स्थान यही सहर हो–जसले मलाई जन्म दियो,” ममदानीले विजय भाषणमा समर्थकलाई सम्बोधन गर्दै भनेका छन्, “राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्ने छ ।”
न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सव्रिmयता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो । ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदीविरोधी’ भन्दै व्यक्तिगत आक्रमणसमेत गरेका थिए । तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृत्तका ठुला व्यक्तिले ममदानीका विपक्षीलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।
न्युजर्सीमा डेमोक्रेट उम्मेदवार मिकी सेरिलले ट्रम्प समर्थित व्यापारीलाई पराजित गर्नुभयो भने भर्जिनियामा एबिगेल स्प्यानबर्गर गभर्नर पद पुनः डेमोक्रेटको कब्जामा ल्याउन सफल भए ।
ममदानीको बाल्यकाल
ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको हो । उनका पिता प्रख्यात विद्वान् महमुद ममदानी र आमा चर्चित भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर हुन् । कम्पालामा बाल्यकाल बिताएपछि पाँच वर्षको उमेरमा उनी बावुआमासँगै दक्षिण अफ्रिकाको केपटाउन सरे । त्यहाँ उनले सन् १८४८ मा स्थापना भएको दक्षिण अफ्रिकाको सबभन्दा पुरानो विद्यालय सेन्ट जर्ज ग्रामर स्कुलमा प्रारम्भिक शिक्षा लिए । सात वर्ष उमेरमा उनी परिवारसहित अमेरिकाको न्युयोर्क पुगे । उनले ब्रङ्कस हाइस्कुल अफ साइन्सबाट माध्यमिक शिक्षा पूरा गरे । सन् २०१४ मा बोडोइन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक डिग्री लिएका ममदानी सन् २०१८ मा अमेरिकी नागरिक बनेका थिए ।
राजनीतिक यात्रा
सक्रिय राजनीतिमा आउनुअघि ममदानी न्युयोर्कको क्विन्समा फोरक्लोजर काउन्सलर (घर जफत हुने प्रक्रियामा परेका न्यून आयको परिवारका सल्लाहकार) का रूपमा काम गर्दथे । सन् २०२० मा उनी पहिलो पटक न्युयोर्क एसेम्ब्लीमा डेमोक्रेटिक सोसलिस्ट पार्टीका तर्फबाट विजयी बने । त्यसपछि उनी न्युयोर्क स्टेट एसेम्ब्लीमा पहिलो दक्षिण एसियाली र पहिलो सोसलिस्ट प्रतिनिधि बनेका थिए ।