तनहुँको भिमादमा जन्मेर चितवनको राप्ती नगरपालिका–८ मा स्थायी बसोबास भएका मनोजकुमार विकको जीवनकहानी सुन्दा आङ सिरिङ्ङ हुन्छ । समाजमा व्याप्त जातीय विभेद, वर्गीय असमानता र कुरीतिविरुद्ध परिवर्तन ल्याउन भन्दै उहाँ २०५८ सालमा १० कक्षा पढ्दै गर्दा माओवादी युद्धमा होमिए ।
रुकुमको खारा, म्याग्दीको बेनीलगायत दर्जनौँ ठुला लडाइँको अग्रपङ्क्तिमा उभिएका विक २०६२ चैत ८ गते चितवनको दारेचोकमा तत्कालीन शाही नेपाली सेनासँगको भिडन्तमा मरेर पनि बाँच्न सफल भए । “दारेचोकमा सेनाको कमान्डोसँग दुई घण्टा भिडन्त भयो,” घटना सम्झँदै विकले भने, “गम्भीर घाइते भएँ, घस्रिँदै केही पर एउटा गोठमा गएर आठ दिन बिताएँ, आठ दिनपछि पार्टी सम्पर्कमा आउँदा जताततै मेरो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भइसकेको रहेछ । म जीवितै देखेपछि सबैतिर खुसियाली छायो । त्यतिबेला १६ जना सहिद हुनुभयो । म १७ औँ नम्बरमा रहेछु ।”
त्यसरी मरेर बाँचेका विक अहिले गाउँमै तरकारी खेती र गाईभैँसी पालेर मनग्य आम्दानी गर्न सफल भएका छन् । “दुई बिघामा तरकारी खेती गरेको छु, गाईभैँसी पालेर दुध बेचेर पनि राम्रै आम्दानी भएको छ,” विकले भने, “जीवन सहज लाग्न थालेको छ, १० जनालाई रोजगारी पनि दिएको छु ।”
किशोरावस्थामै २०५४ सालमा माओवादी युद्धमा होमिएका चितवन भण्डाराका कविराज कँडेल बहिर्गमनमा परेर विस्तृत शान्ति सम्झौतापछि रोजगारीका लागि दुबई गएर १४ वर्ष बिताए । त्यहाँबाट कमाएर ल्याएको पाँच लाख रुपियाँ तरकारी खेतीमा लगानी गरेर उनी अहिले करोडपति कृषक बन्न सफल भएका छन् ।
२० बिघा क्षेत्रफलमा तरकारी खेती गरेर पछि होलसेलमा खरिद बिक्री गर्न थालेका कँडेलले अहिले तरकारी विदेश निर्यातसमेत गर्छन । “दुनियाँ सुतिरहेको बेलामा राति २ बजे उठेर हाटबजार जान्छु, बिहान १० बजेसम्म तरकारी खरिद बिक्री गर्छु, दैनिक सात लाखसम्मको कारोबार हुन्छ,” कँडेलले भने, “मासिक पाँचरसात लाख रुपियाँ कमाइ गर्छु, चार पाँच जनालाई रोजगारी दिएको छु, इमानदार भएर मेहनत गर्ने हो भने आम्दानी गर्न गाह्रो छैन ।”
लगनशील भएर काम गर्ने हो भने नेपालमै पनि राम्रो कमाउन सकिँदो रहेछ भन्ने उदाहरण बनेका छन् कँडेल । “दुई वर्षमा दुई करोडमा घर किनेँ, गाडी छ, बैङ्कमा पनि केही रकम जम्मा गरेको छु, जिन्दगी सहज बन्दैछ,” उनले भने ।
सिन्धुली घर भएका देवीप्रसाद ढकाल रवीन्द्र मजदुरी गर्नका लागि २०६० सालमा पोखरा पुग्नुभयो । केही समयपछि नै उनी माओवादीमा लागेर लडाकु बने । २०६० कात्तिक १८ गते नेपाली सेनाको मध्य पृतनाले उनलाई गिरफ्तार गरी धादिङको गजुरी ब्यारेकमा राख्यो । गिरफ्तार भएको एक वर्ष ११ दिनमा ब्यारेक तोडेर भागेका उनी पनि अहिले चितवनमा व्यावसायिक तरकारी खेती र गाईभैँसी पालनमा व्यस्त छन् ।
२०५६ सालदेखि माओवादी लडाकु बनेका सिन्धुलीको जुगल गाउँपालिका बिर्खबहादुर श्रेष्ठ चितवनको कालिका नगरपालिकामा ठेला गाडामा मौसम अनुसारका तरकारी र फलफूलको व्यापार गर्छन । “कहिले मकै पोलेर बेच्नु, कहिले तरकारी र फलफूल अनि कहिले पिँडालु र मास बेचेर पाँच छोराछोरीसहित सात जनाको परिवार पाल्नु परेको छ,” श्रेष्ठले भने।
लडाइँको मोर्चामा खानपान र आराम नमिल्दा भरतपुर–१६, सरनपुरका विजय परियार ‘क्रान्ति’ लाई ठुलो आन्द्राको क्यान्सर भयो । देशका लागि ज्यान दिन हिँडेका परियार भन्छन्, “आफूलाई क्यान्सर लागे पनि देशलाई क्यान्सर नलागोस् ।” लडाइँमा प्राविधिक क्षेत्रमा रहेर काम गरेका परियार अहिले पनि यही क्षेत्रमै सक्रिय हुनुहुन्छ । तेस्रो डिभिजन चौथो बटालियनको सहकमान्डर भएका बागलुङका टेकबहादुर बुढाले बम डिस्पोज गर्ने बेलामा सानो गल्तीले दुवै हातका औँला र एउटा आँखा गुमाए । तर पनि उनले आफ्नै व्यवसाय गरेर सहज ढङ्गले जीवन गुजारा गरिरहेका छन् ।
बोमलाल गिरी/गोरखापत्र