प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा रानाको कार्यकाल पुरा भएको छ । फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज पहिलो दिन १३ पुसमा निर्वाचन आयोगमा बुझाएसँगै सभामुख र उपसभामुखको कार्यकाल पुरा भएको हो ।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज १४ र भोलि १४ पुसका लागि तय गरेको छ। संविधानमा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।
आफ्नो कार्यकाल पुरा भएकाले सभामुख देवराज घिमिरेले आजै सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् । संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेका हुन् ।
घिमिरे ५ माघ २०७९ मा सभामुख निर्वाचित भएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर त्यसको दुई दिनपछि ७ माघ २०७९ मा उपसभामुखमा निर्वाचित भएकी थिइन् । संयोग के भने सभामुख घिमिरे र उपसभामुख राना मगर दुवै झापा क्षेत्र नं. दुईकै वासिन्दा हुन् ।