प्रा.डा.युवराज संग्रौलाले झापा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रा.डा. संग्रौलाले आज दिउँसो १२ं.३० बजे अर्जुनधारा नगरपालिकास्थित निर्वाचन आयोगको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । प्रा.डा. संग्रौला उम्मेदवारी दर्ता गराउन समर्थकहरुको समूहसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्तापछि स्थानीय पत्रकारहरूसँग कुरा गर्दै संग्रौलाले निर्वाचन जीतहारको खेलभन्दा माथि विचार र अभियानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ूझापाका सचेत जनताले ूविचार र अभियानलाईू समर्थन गर्ने विश्वास लिएको छु, उनले भनेका छन्। आफू व्यक्तिका रूपमा विचार लिएर आएको उनको भनाइ छ । पत्रकारहरूले सोधेको प्रश्नमा डा. संग्रोलाले झापालाई डिजिटल सेन्टर बनाउने र राष्ट्रिय राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने बताए ।
संग्रौलाले औद्यैगिकीकरण, भूराजनीतिमा सार्थक सन्तुलन, बाबुआमा र छोराछोरीसँगै बस्ने सुनिश्चितता, विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि आफू लागिपर्ने प्रतिवद्धता जनाएका छन् । वर्तमान राज्यसत्ता दलतन्त्रको चंगुलमा परेको भन्दै उनले नागरिकतन्त्रको अभियान अगाडि बढाउने बाचा गरेका छन् ।