Published
2 months agoon
By
Nepal Muhar
सोलुखुम्बुमा अबका तीन दिनमा पैसा र झुट्टो आश्वासनको खोलो बगेन र कुनै आठौं आश्चर्य भएन भने आफ्नो पार्टीको उम्मेदवार कल्पना राई विजयी हुने एमालेको दाबी
पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बु र पहाडी जिल्ला ओखलढुङ्गामा नेकपा (एमाले) ले महिला उम्मेदवारलाई टिकट दियो । त्यो पनि उमेर समूहमा ४० वर्षभन्दा मुनीकालाई । एमाले सोलुखुम्बुको उम्मेदवारीका लागि केन्द्रीय सदस्य मानवीर राई र जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला अपेक्षारत थिए । तर, टिकट गयो, सचिव कल्पना राईको नाममा । के फरक पर्यो त ! कल्पना पनि मानवीर र डुफकुमार जस्तै बालवयदेखि नै एमालेप्रति प्रतिवद्ध कार्यकर्ता न हुन् ।
यता ओखलढुङ्गामा पनि पोलिटब्युरो सदस्य यज्ञराज सुनुवार र जिल्ला नेता अम्बिरबावु गुरुङ्ग टिकट पाउने अपेक्षामा थिए । त्यहाँ पनि अध्यक्ष केपी शर्मा ओली र उनी निकटस्थले सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाका हातमा टिकट थमाए । थापाले टिकट लिएपछि ओखलढुङ्गा एमालेमा भाँडभैलो नै मच्चियो ।
अवसर लुट्न ‘अमिर’ मानिने अम्बिरबावु गुरुङ एकाएक नेकपा (नेपाली कम्युनिष्ट पार्टी) को शरणमा पुगे र प्रचण्ड, माधवकुमार नेपालबाट टिकट फुत्काए । नेकपाले रामकुमार कार्की उर्फ कमरेड नविनका हातमा थमाइसकेको टिकट खोस्यो । अम्बिरकै नेतृत्वमा नेकपा (एमाले) ओखलढुङ्गाका अध्यक्षलगायतको एउटा समूह नेकपामा ‘रवाना’ भयो । अर्थात टिकट वितरणले ओखलढुङ्गा एमाले र नेकपा दुवैभित्र ठूलै तरङ्ग ल्यायो ।

यता सोलुखुम्बु एमाले चाहिँ शान्त समुन्द्रझैँ अटल रहिरह्यो । आफूले टिकट नपाएकोमा केन्द्रीय सदस्य मानवीर र जिल्ला अध्यक्ष डुफ दुवैले औपचारिक रुपमा विद्रोहको बागी आवाज ओकलेनन् । यसबेला जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला, कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले सोलुका पूर्वप्रमुख बुद्धिकुमार राजभण्डारी, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका निवर्तमान सांसद मानवीर राई विश्व भूगोलकै अग्लो शिखर सगरमाथाको काख सोलुखुम्बुमा दोस्रो पटक एमालेलाई विजय गराउँदै सूर्य झण्डा फहराउन अहोरात्र खटिइरहेका छन् । र, कल्पना राईका लागि सतिसाल बनेर अघिपछि हिडिरहेका छन् । उनीहरु सबैको समवेत् संकल्प छ– एमाले र कल्पना राईलाई सोलुखुम्बुबाट जिताएरै छाड्ने ।
कल्पना पनि सोलुखुम्बु एमालेमा मानवीर राई, बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोलालगायतलाई नै जिल्ला राजनीतिमा आफ्नो प्रेरणाको स्रोत र अभिभावक मान्छिन् । हिजो १७ फागुन राति साढे १० बजे नेपालमुहार र कल्पनाबीच कुराकानी भइरहदा डुफकुमार, बुद्धिकुमार, मानवीरलगायत उनलाई जिताउन घरदैलोमै थिए र खुम्बुपासाङल्यामु गाउँपालिकाको लुक्लाबाट सुर्के झर्दै थिए । कप्पना भन्दै थिइन्, “सोलुखुम्बुको राजनीतिमा मलाई डोहोर्याउँदै अघि बढाउने बुद्धिकुमार राजभण्डारी र मानवीर राई नै मुख्य हुनुहुन्छ । यसको अर्थ अरु अग्रज र सहकर्मीहरुको भुमिकालाई नजरअन्दाज गरेको चाहिँ हुइँन । उहाँहरुले पनि मलाई उत्तिकै हौसला दिनु भएको छ ।”
कल्पना राई २०४५ साल असोज १६ गते सोलुखुम्बुको पनि निकै दुर्गम अर्थात कोसीपारी भनिने साविक सोताङ गा.वि.स. को गोर्खिममा जन्मिएकी हुन् । भलै उनको शैक्षिक प्रमाणपत्र र नागरिकतामा भने त्यसको ठिक एक महिनापछिको जन्ममिति छ । उनी जन्मिएको गोर्खिम राई (नाछिरिङ) जातिको ऐतिहासिक विरासत बोकेको पुरातन थलो हो । त्यति मात्र होइन, गोर्खिम पञ्चायतकालदेखि नै कम्युनिष्ट (नेकपा माले–एमाले) को पकड क्षेत्र हो ।

कल्पनाकै शब्दमा गोर्खिम एमालेको कतिसम्म गढ भने पञ्चायतकालमा त्यहीँका चण्डीमान राई प्रधानपञ्च थिए । ०४७ बैशाखमा बहुदल स्थापना भएपछि ०४८ को निर्वाचन अघि चण्डीमान नेपाली कांग्रेसमा आवद्ध भए । चण्डीमान कांग्रेस भएपछि सिङ्गो समुदायले उनलाई ‘एक घरे–एक घरे’ भन्दै भूमेपूजादेखि चण्डीनाचसम्म बहिष्कार गर्यो । कल्पना ११ वर्षकी हुँदै गर्दा ०५६ सालको आम निर्वाचनमा सोताङ कांग्रेस र एमालेको रणमैदान बन्यो । कांग्रेसका बलबहादुर केसी र प्रहरीको दमनले गाउँका सबै आमाबुवाहरु जंगल पस्नु परेको र आफूहरु ‘भन्ट्याङभुन्टुङ’ मात्र गाउँमा रहेको स्मरण गर्छिन् उनी ।
उनका बुवा गुमानसिंह राई आफैं पनि एमालेका जब्बर लडाकू थिए । गाउँमा कांग्रेससँगको लडाईँमा अग्रपक्तिमा हुन्थे कल्पनाका बुवा । जो निर्वाचन हुनु अघि नै घघांरुका लठ्ठी काटेर अगेनामाथि सुकाएर राख्थे । त्यही रणमैदानको वातावरणले कांग्रेस हुनुहुँदो रहेनछ भन्ने छाप पस्यो उनको मानसपटलमा । अर्थात एमाले पकडमय वातावरणले बालसुबोध मानसिकतामै उनी विद्यालय तहमा अध्ययरत रहदा नै अखिल (नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) हुन पुगिन । सात कक्षामा पढ्दै गर्दा २०५८ सालमै वीरेन्द्रज्योति मा.वि. सोताङको प्रा.क. (प्रारम्भिक कमिटी) अध्यक्ष चुनिइन् कल्पना ।
विद्यार्थी राजनीतिमा उनको छलाङ कस्तो भयो भने त्यसको एक वर्षपछि अखिलको जिल्ला सम्मेलन प्रतिनिधि, जिल्ला कमिटी सचिव, तत्कालीन माथिल्लो सगरमाथा अञ्चल कमिटी सदस्य, कोषाध्यक्ष हुँदै केन्द्रीय सदस्य बनिन् । स्थानीय दुःख, सुखका कन्दराहरुसँग हुर्कदै कल्पनाले वीरेन्द्रज्योति मा.वि. सोताङबाट २०६१ मा एसएलसी उत्तीर्ण गरिन् ।

कक्षा ११–१२ अध्ययनका लागि यात्रा ‘सहर’ पस्यो अर्थात ११–१२ अध्ययन गर्न उनी सोलुखुम्बुको सदरमुकाम सल्लेरी आइन् र सोलुखुम्बु बहुमुखी क्याम्पसबाट अध्ययन अघि बढाइन् । यसै मेसोमा ०६४–०६५ पछि कल्पना दुर्गम क्षेत्र विकास समिति सदस्य, सुकुम्बासी समस्या समाधान आयोग सोलुखुम्बुको सदस्य भइन भने ०७४ का स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको एक मात्र दुधकुण्ड नगरपालिकाको उपमेयर भएर पाँच वर्ष जनप्रतिनिधिका रुपमा जनताको मन मनग्ये जितेकी छन् कल्पनाले ।
उनले राजनीति र सामाजिक कार्यसँगै शिक्षाशास्त्र संकायबाट एमएड (स्नातकोत्तर) गरेकी छन् भने कानूनमा स्नातक गरी अधिवक्ताको प्रमाणपत्र लिएकी छन् । कल्पनाको सधैँ हसिलो अनुहार, शालिन र नम्र व्यवहारले पनि धेरै मतदातालाई उनीप्रति आर्कषित गरेकोे छ ।
कल्पनाका जितका आधारहरु के–के हुन् ? “मेरो जितका आधारहरु पहिलो– म सोलुखुम्बु जस्तो दुर्गम हिमाली जिल्लामा एक शिक्षित महिला उम्मेदवार हुँ । दोस्रो– म ४० वर्षमुनीको उम्मेदवार हुँ । त्यसैले जेनजी युवादेखि वृद्धवृद्धासम्म सबैका भावना बुझ्न र समेट्न सक्छु”, कल्पना आफ्नो जित सुनिश्चित रहेको बताउँदै भन्छिन्, “तेस्रो– म सोलुको कोसीपारीकी छोरी हुँ । सोताङ/महाकुलुङदेखि त्यसभेगका छोरीले पहिलो पटक यो उपल्लो जिम्मेवारी पाउँदैछन् । चौथो– सोलुखुम्बुको एक मात्र दुधकुण्ड नगरपालिकामा पाँच वर्ष उपमेयर भएर मैले गरेको सेवा जिल्लाभरका मतदाताले देख्नु भएको छ ।
थप्छिन्, “झण्डै साढे दुई दशकदेखि म कहीँ कतै बिचलित नभई सोलुखुम्बुको राजनीतिक–सामाजिक अभियानमा निरन्तर लागिरहेको छु । मैले कुनै तडकभडकको जीवन बाँचेको छैन र बाँच्नु छैन । मैले भ्रष्टाचार गरेको छैन । कहिल्यै गर्दिन पनि । अन्तरपाटी महिला जिल्ला सञ्जालको पदाधिकारी समेत भएर सबै पार्टी, जाति, क्षेत्र, लिङ्ग, समुदायको सेवा गरेको छु । त्यसैले सिङ्गो सोलुखुम्बुबासीले मलाई नजिताउनु पर्ने कुनै कारण छैन ।”

चुनावी अवस्था
पर्सी २१ फागुनको निर्वाचनमा सोलुखुम्बुमा ८५ हजार पाँच सय १५ मतदाता छन् । जसमध्ये उन िपाँच वर्ष उपमेयरका रुपमा जनप्रतिनिधि भएर काम गरेको दुधकुण्ड नगरपालिकामा २० हजार सात सय ६० मतदाता छन् । त्यसै गरी कोसीपारी भनिने उनी जन्मेहुर्केको सोताङ गाउँपालिकामा सात हजार दुई सय ९५, त्यससँगैको महाकुलङ गाउँपालिकामा आठ हजार एक सय ८९ मतदाता छन् ।
त्यस्तै थुलुङ दुधकोसी गाउँपालिकामा १५ हजार नौ सय ९८, माप्य दुधकोसीमा १० हजार नौ सय ४३, खुम्बुपासाङल्यामुमा छ हजार एक सय ३३, लिखुपिकेमा पाँच हजार दुई सय ६२ र नेचासल्यान गाउँपालिकामा १० हजार नौ सय ३५ मतदाता छन् ।

नेकपा एमाले सोलुखुम्बूका पूर्वसचिव एवम् कोसी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीका भनाइमा सोलुखुम्बुका आठ वटा स्थानीय तहमध्ये दुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्यामु, माप्य दुधकोसी र कोसीपारीका सोताङ तथा महाकुलङ गाउँपालिकाबाट एमाले उम्मेदवार कल्पना राईलाई पहिलो मत झर्नेछ । जसमध्ये ०७९ को स्थानीय तह निर्वाचनमा एमालेले खुम्बुपासाङल्यामु र माप्य दुधकोसी गाउँपालिकाका जित हासिल गरेको थियो ।

यता दुधकुण्ड नगरपालिका, नेचा सल्यान र सोताङ गाउँपालिकामा एमाले दोस्रो भएको थियो । तर, यसपटक यी तीन मध्ये दुधकुण्ड नगरपालिका, सोताङ र स्थानीय तह निर्वाचनमा एमाले तेस्रो बनेको महाकुलुङ गाउँपालिकाबाट एमाले उम्मेदवारले पहिलो मत ल्याउने राजभण्डारी बताउँछन् । उनी जसको कारण दिन्छन्, “दुधकुण्ड नगरपालिका कल्पना उपमेयर भएर जनताको मन जितिसकेको ठाउँ हो । उनको काम जनताले प्रत्यक्ष देखेका छन् । स्थानीय निर्वाचनमा हामी सोताङमा एक सय २८ मत अन्तरले मात्र पराजित भएका हौं ।”
राजभण्डारीको थप कथन छ, “त्यसमाथि प्रतिनिधि सभामा सोताङ र महाकुलुङले त्यही क्षेत्रकी छोरी उम्मेदवार पाएका छन् । अबको यो तीन दिनमा पैसा र झुट्टो आश्वासनको खोलो बगेन र कुनै आठौं आश्चर्य भएन भने एमाले उम्मेदवार कल्पना राईले सोलुखुम्बुमा जित्दैछिन् ।”
सगरमाथाको काखमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी
निर्वाचन तीन दिन बाँकीः सोलुखुम्बुमा प्रकाश छर्ने तयारीमा प्रकाशसिंह कार्की
निर्वाचन सात दिन बाँकीः सोलुखुम्बु कांग्रेसमा २०४८ साल यता यसपटक अभुतपूर्व एकता
सोलुखुम्बुको फलामखानीमा पहिरोले घर पुरियो
पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिने प्रधानमन्त्रीको प्रतिवद्धता