Connect with us

राजनीति

विश्वराज पोखरेलको हर्कतप्रति शिक्षकहरुको आपत्ति

Published

on

नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद विश्वराज पोखरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पोखरेलले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई आफ्नो स्वागत गर्न नआएको भन्दै निच हर्कत देखाएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सांसद पोखरेलको सो हर्कत अशोभनीय भएको ठहर गरेको छ । विद्यालयको हाताभित्र प्रधानाध्यापकमाथि गरिएको सो व्यवहार शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि प्रहार भएको महासंघको जिकिर छ ।

‘हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार हुन्छ । यस तथ्यलाई बिर्सेर माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानाध्यापक माथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ’,विज्ञप्तिमा उल्लेख छ ।

महासंघले घटनाको घोर निन्दा गर्दै आगामी दिनमा सो किसिमको व्यवहार नगर्न आग्रह गरेको छ । सांसद पोखरेल गत वैशाख १० गते आफ्नो गृहजिल्ला पुगेका थिए । उनलाई स्वागत गर्न विद्यालयले भव्य कार्यक्रम आयोजना गरेको थियो । बाजागाजासहित विद्यालय भित्र्याइएका उनी आउँदा प्रधानाध्यापक र कर्मचारी अर्कै काममा व्यस्त थिए ।

आफूलाई स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकलाई हप्काएका थिए । साथै, उनले आफू पूर्वअतिरिक्त महानिरीक्षक भन्दै धाक लगाएका थिए । सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । सर्वत्र विरोध भएपछि उनले माफी मागेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.