Connect with us

राजनीति

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

Published

on

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।
कार्यक्रममा  प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गरे । उनले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।
नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उनले जेलजीवनसमेत बिताएका स्मरण गरे ।
कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको बताउँदै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश बन्ने बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको धारणा राखे ।
त्यस अवसरमा वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उहाँको योगदानको चर्चा गरेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.