Connect with us

राजनीति

स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त

Published

on

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ । “अध्यादेशअनुसार मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएका छन् । पदमुक्त भएका पदाधिकारीलाई पत्राचार गरिरहेका छौँ”, उनले भने।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत निकाय रहेका छन् । पदाधिकारीलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको सहप्रवक्ता डा अधिकारीले उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.