बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरनक्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो ।
ढोरपाटन र गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकाका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो । छ स्थानीय तहका कुकुरलाई समेत खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा ऋषिराम सापकोटाले बताए । उनका अनुसार १७ हजार ३६५ गाई, २७ हजार ५२ भैँसी र ८३० बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ ।
खोरेत रोगका कारण पशुको मुखभित्र, खुट्टा र स्तनमा फोका आउने तथा दूध उत्पादन घट्दा कृषकलानी हानी भएको छ । आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दूध, मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको प्रमुख डा सापकोटाले बताए ।
खोप लगाउँदा पशुको शरीरमा एन्टिबडी बन्ने भएकाले खोरेत भाइरसविरुद्ध प्रतिरोध हुने, विभिन्न जोखिम कम गर्ने, किसानलाई नोक्सानीबाट बचाउने र उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी, ६९ हजार ४८४ बाख्रा र १३ हजार ३७९ भेडालाई पिपिआर खोप लगाइएको प्रमुख डा. सापकोटाले बताए ।
घातक रोगबाट बचाएर पशुपालनमा हुनसक्ने आर्थिक नोक्सानीलाई रोक्न ढोरपाटन र निसीखोलाका चरन क्षेत्रमै पुगेर खोप लगाइएको छ । खोप लगाएपछि भेडाबाख्रामा उच्च ज्वरो, आँखा र नाकबाट पानी झर्ने, मुखभित्र घाउ र दादुरा, खाना खान नसक्ने, पखाला र निमोनिया तथा विभिन्न कारणले हुनसक्ने मृत्युको दरसमेत घट्ने प्रमुख डा. सापकोटाले बताए ।
पश्चिम बागलुङका घरपालुवा र सामुदायिक गरेर सात हजार ७७४ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । रेविजविरुद्धको खोप कुकुरलाई लगाएपनि यसबाट मानिसलाई समेत घातक रोगबाट बचाउने उद्देश्यका साथ खोप लगाइँदै आएको छ । कुकुरलाई लगाइने यो खोपले कुकुरको रेविज रोक्ने, मानिस र समाजलाई समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
त्यसैगरी ८९७ बङ्गुरलाई अत्यन्तै सङ्क्रामक रोग नियन्त्रणका लागि लगाइने सिएसएफ खोप लगाइएको छ । चौबीस महिला र २५ पुरुष खोपकर्ता खटाएर कृषकका घरदैलोमै पुगेर खोप अभियान सम्पन्न गरिएको प्रमुख डा सापकोटाले बताए । पहिलो चरणको अभियानमा पश्चिम बागलुङका ६ स्थानीय तहमा खोप अभियान सम्पन्न गरेर दोस्रो चरणको अभियान बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा यही वैशाख १ गतेदेखि सञ्चालन गरिएको उनले जानकारी दिए । वैशाख मसान्तसम्ममा अभियान सञ्चालन भइरहेका बाँकी चार स्थानीय तहका सबै पशुलाई खोप लगाइने छ । सो कार्यका लागि ३५ प्राविधिक वडा–वडामा खटिएका छन् ।