Connect with us

अर्थ

कोरला भन्सारबाट दुई दिनमा २९ करोड राजस्व संकलन

Published

on

केही दिन अघिबाट मात्र सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट अस्ति बुधबार र हिजो बिहीबारमा मात्र २९ करोड रुपैयाँ राजस्व उठेको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

“सामान आउने क्रम जारी छ । इलेक्ट्रिक गाडी बढी मात्रामा आएका छन् । हिजोसम्म २९ करोड रुपैयाँ राजस्व दाखिला भएको अवस्था छ,” उनले भने । यो भन्सार असोज १ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकले भदौ ३१ गते मुस्ताङको कोरला भन्सारबाट सामान आयात गर्दा बैंकहरूलाई विनिमय गर्न स्वीकृति दिएको हो ।

यो भन्सारबाट इलेक्टिक भेइकल (ईभी) २२२ वटा आएका छन् । जसमा १५९ वटा जाँचपास भएर भन्सारबाट भित्रिएको उको भनाइ छ । हालसम्म मालवाहक गाडी ९६ वटा आएका छन् । जसमा ५५ वटा जाँचपास भई राजस्व दाखिला गरेर छुटेका खड्का बताउँछन् ।

रसुवा र तातोपानी भन्सार बाढीपहिरोका कारण बन्द भएकाले चीनतर्फबाट सामान नेपाल भित्र्याउन यो नाका सञ्चालनमा ल्याइएको हो । रसुवा भन्सार बन्द हुँदा यो भन्सारबाट सामान आयात बढेको छ । अहिले नै अत्यधिक चिसो भएकाले हिउँदमा यो नाका प्रयोग हुनेमा शंका छ । कोरला भन्सार छेउमा कुनै पनि होटेल छैनन् । व्यवसायी तथा कर्मचारी २–३ किलोमिटर तल झरेर बस्नुपर्ने बाध्यता छ ।

दसैँ नजिकिँदै गएकाले पनि चीनबाट सामान ल्याउने व्यापारीहरूले यो भन्सार प्रयोग गरिरहेका छन् । तर, कोरला बोडरबाट ५०० मिटर उता पुगेर व्यवसायीले सामान लोड गरेर ल्याउनुपर्ने बाध्यता छ । चीनतर्फका व्यापारीले उनीहरूकै भन्सारसम्म मात्र सामान ल्याइदिने गरेका छन् । अत्यन्तै चिसो स्थानमा यो नाका भएकाले नेपालबाट गएका गाडी चिसोका कारण स्टार्ट नहुने समस्या देखिने गरेको खड्का बताउँछन् ।

चिनियाँ पक्षबाट नेपाली भन्सारसम्म सामान ल्याइदिए यो नाका बाह्रै महिना सञ्चालन गर्न सकिने उनी बताउँछन् । तर, तातोपानी र रसुवा खुलेपछि हालसम्मकै जस्तो चाप भने नहुने उनको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.