सिन्धुपाल्चोकको भोटेकोसी नदीमा ४६ मेगावाट क्षमताको भोटेकोसी–५ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ । कालीका इनर्जी लिमिटेडले नौ अर्ब रुपियाँभन्दा बढीको लगानीमा आयोजना निर्माणको प्रस्ताव अघि सारेको हो ।
आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनामध्ये भोटेकोसी १०२ मेगावाट जलविद्युत् आयोजनाको पावर हाउसबाट निस्किने पानी प्रयोग गरी निर्माण हुने छ । आयोजनाका लागि ५.६ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । ४ किलोमिटर लामो २२०-४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् बाह्रबिसे सब स्टेसनमा जोडिने छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीसँग आज मङ्गलबार आयोजना क्षेत्रमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइका क्रममा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै स्थानीयको सुझाव, गुनासो तथा सल्लाह लिइएको हो । कालीका इनर्जी लिमिटेडका अध्यक्ष मोहनविक्रम कार्कीले आयोजनाले स्थानीय जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
उनले आयोजनाका कारण उत्पन्न हुने सम्भावित समस्याहरूको समाधानका लागि आयोजना पूर्णरूपमा प्रतिबद्ध रहेको बताए । ‘जनधारणा बुझ्ने, जनगुनासो सम्बोधन गर्ने, बजार तथा बस्ती संरक्षण, ऐतिहासिक स्थलको संरक्षणमा समेत आयोजना जिम्मेवार रहने छ’ अध्यक्ष कार्कीको भनाइ छ ।
उनले स्थानीय स्रोत र जनशक्तिको भरपूर प्रयोग गर्दै स्थानीय प्रवर्धकको सेयर ५० प्रतिशत पुर्याउने लक्ष्यसहित अगाडि बढ्ने जानकारी दिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतलगायतले आयोजनाले स्थानीयको उचित माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष कार्कीले प्रारम्भिक अध्ययनमा नदेखिएको तर आयोजना निर्माणको क्रममा देखा पर्ने प्रभावहरूको न्यूनीकरणमा पनि आयोजना सचेत रहेको बताए । यसअघि विभिन्न जलविद्युत् आयोजना निर्माणको अनुभव बोकेको कालीका इनर्जी लिमिटेडले भोटेकोशी–५ आयोजना सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ऊर्जा प्रणालीमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।