वर्षौँदेखि बस्दै आएको ‘टहरा भत्काउन डोजर आउँदै छ’ भन्ने खबर पाएदेखि नै बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार बिहानैदेखि त्रसित देखिन्थे । भरियाको काम गरेर बनाएको एउटा टहरो उनको वासस्थान थियो । उनको परिवार २० वर्षदेखि बस्दै आइरहेको थियो । इन्द्रबहादुरले पाँच वर्षअघि टहरो मर्मतसमेत गरेका थिए । त्यसैमा पनि डोजर चल्ने भएपछि उनले छिमेकीसँग दुःख व्यक्त गर्दै थिए, ‘रगत–पसिना खर्चेर बनाएको टहरो भत्काएको हेर्न सक्दिनँ । यहाँबाट सरेर कतै पनि जान्नँ ।’
इन्द्रबहादुरको भनाइलाई छिमेकीले पीडाको बयानका रूपमा बुझे । घर भत्काउन प्रहरी पुग्दा इन्द्रबहादुर बिहान ८ बजेतिर त्यस क्षेत्रमा देखिएका थिए । तर, ९ बजेपछि उनी छिमेकीसँग भेटिएनन् । कतै गए होलान् भनेर परिवारले समेत खोजी गरेनन् । दिउँसो ३.३५ बजे बागमती नदीमा कपडाजस्तो वस्तु बगिरहेको थियो । केहीबेरमा हात पनि देखियो, त्यसपछि स्थानीयले प्रहरीलाई बोलाए । बाहिर निकाल्दा उनी रहेछन्– इन्द्रबहादुर । नदीबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
‘साढे तीन बजेतिर खोलामा हातजस्तो देखिएपछि प्रहरीलाई खबर आयो । त्यसपछि हेर्दा मृतक इन्द्रबहादुर राई हुनुहुँदोरहेछ । उहाँ त्यही क्षेत्रमा बस्नुहुँदोरहेछ,’ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले भने, ‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ, अन्य विवाद वा कलहबारे बुझेका छैनौँ ।’ छिमेकी मनकुमार लामाले भने, ‘घर भत्किन्छ भन्ने भइसकेपछि केही नराम्रो गर्नुभएको हो कि । गलत बानी भएको व्यक्ति त होइन उहाँ । टहराको पीरले नै यस्तो निर्णय लिएको हुनुपर्छ ।’
त्यस्तै, थापाथली क्षेत्रमा बस्ती भत्काउन डोजर चलेपछि बेहोस भएकी रेखा कुँवरलाई वीर अस्पताल पुर्याइएको थियो । डरका कारण उनी बेहोस भएकी थिइन् । अहिले उनको स्वास्थ्य सामान्य भएको अस्पतालले जनाएको छ ।
नयाँ पत्रिका