एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ । विधि र प्रक्रियाविपरीत गएर एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।
केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालको भनाइ छ । आज बिहान २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको भन्दै निर्वाचन समितिले नामावली प्रकाशन गरेको थियो । त्यही प्रक्रिया विरुद्ध भूसाललगायतले गम्भीर आक्षेप लगाएका हुन् । प्रतिनिधिका आकांक्षी सुरेश गौतमले स्वेच्छारी लादिएको भन्दै छनौटका सम्पूर्ण प्रक्रिया तत्काल खारेज गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।
‘जिल्लाको नेतृत्वले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन् । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन’, गौतमले भनेका छन् ।