दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस गएराति बेलझुण्डीमा दुर्घटनामा परेको हो ।
तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ । बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिएर दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बसमा चालकसहित आठ जना सवार थिए ।
घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेको रानाले जानकारी दिए ।
केही घाइतेहरुलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक नारायण कुवर फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरको भनाइ छ ।