Connect with us

अर्थ

आजदेखि क्रिकेट महोत्सव

Published

on

आजदेखि २७ दिनसम्म चल्नेछ एनपिएल दोस्रो संस्करण, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै

नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ ९क्यान०लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।

एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।

स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् । पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रवद्र्धन हुने र अर्थतन्त्र सुधार्न टेको बन्ने अपेक्षा गरिएको छ ।

क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताए । ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपिएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’

पुरस्कारमा वृृद्धि नहुने
पहिलो संस्करण भव्य रूपमा आयोजना गरेको क्यानले पुरस्कार राशि भने निकै कम राखेको थियो । दोस्रो संस्करणमा पनि पुरस्कारमा सुधार गरेको छैन । विजेता टिमले पहिलो संस्करणकै बराबर एक करोड १० लाख पाउनेछ । त्यस्तै, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पाउनेछन् । यसप्रति क्रिकेट समर्थक र टिम मालिकहरूले नै असन्तुष्टि जनाएका छन् ।

४२ विदेशी खेलाडी जोडिए
एनपिएलमा यसपटक ४२ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । सहभागी टिमले न्यूनतम ४ देखि अधिकतम ६ विदेशी खेलाडी राख्न पाउँछन् । सबै टिमले ६ खेलाडी अनुबन्ध गरे भने यो संख्या ४८ पुग्नेछ । हालसम्म काठमाडौं, विराटनगर र कर्णालीले ६–६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । पोखरा, जनकपुर, चितवन र लुम्बिनीले ५–५ जना अनुबन्ध गर्दा सुदूरपश्चिमले चार विदेशी खेलाडी राखेको छ ।

विश्वकप जितिसकेकादेखि चर्चित लिग खेलाडी यसपालि त्रिवि क्रिकेट रंगशालामा उत्रिँदै छन् । अझ आइसिसीको नियमअनुसार सहभागी टिमले टेस्ट खेलिरहेका खेलाडी अनुबन्ध गर्न पाएका छैनन् । पहिलो नेपाल टी–२० फिक्सिङ र बेटिङको निसानामा परेपछि नेपाली क्रिकेट नै बदनाम हुन पुगेको थियो । त्यसपछि आइसिसीले अहिले टेस्ट खेलिरहेका चार खेलाडी मात्रै अनुबन्ध गर्न पाउने नियम बनाएको थियो । जसअनुसार गोलाप्रथाबाट चार टिमले यो अवसर पाए । कर्णाली याक्सले अफगानिस्तानका पूर्वकप्तान जाजिव जाद्रन, लुम्बिनीले अफगानिस्तानकै गुल्वादिन नाइव, सुदूरपश्चिमले स्कट कुगुलेइन र पोखराले न्युजिल्यान्डका जिमी निसमलाई अनुबन्ध गरेका हुन् ।

हालसम्म इंग्ल्यान्ड, अस्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, भारत, अफगानिस्तान, पाकिस्तान, वेस्ट इन्डिज, युगान्डा, इटाली, नामिबिया, श्रीलंका, नेदरल्यान्ड, स्कटल्यान्ड गरी १५ देशका ४२ खेलाडी अनुबन्ध भइसकेका छन् । अब, पाँच टिममा ६ खेलाडी अनुबन्ध हुन बाँकी रहेका छन् । ‘हामीसँग धेरै देशका चर्चित खेलाडी अनुबन्ध हुनुभएको छ । नेपाली समर्थकले चर्चित अनुहार अगाडि नै देख्न पाएका छन् । उनीहरूको आगमनले पर्यटन प्रवद्र्धनमा टेवा पनि मिलेको छ,’ क्यान सचिव खड्काले भने । हालसम्म सबैभन्दा धेरै खेलाडी इंग्ल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट एनपिएलमा जोडिएका छन् ।

पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन ल्याउँदा निकै चर्चा भएको थियो । यसपटक विराटनगरले दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिसलाई आबद्ध गरेको छ । उनी नै प्रतियोगिताको ठुलो नाम हुन् । दक्षिण अफ्रिकाकै मर्चेन्ट डी लिग्ने पनि विराटनगरमा छन् । दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेललाई जनकपुरले अनुबन्ध गरेको छ । अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन, साम हिजलेट र विलियम बासिस्टोजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन् । इंग्ल्यान्डबाट विश्वकप जितिसकेको डाविड मलान, जासन रोयदेखि रवि बोपारासमेत एनपिएल खेल्दै छन् ।

सबै खेलाडीलाई पाँचतारे होटेलको सुविधा
प्रतियोगितामा सहभागी सबै टिमले आफ्ना खेलाडीलाई पाँचतारे होटेलको सुविधा दिएका छन् । क्यानले विश्वचर्चित क्रिकेटर र नेपाली खेलाडीलाई धेरैभन्दा धेरै सुविधा दिने योजना बनाएपछि सहभागी टिमका मालिक खेलाडीलाई पाँचतारे सुविधा दिन तयार भएका हुन् । एक टिममा १६ देखि १८ सम्म खेलाडी छन् । खेलाडीबाहेक टिमका अफिसियल पनि होटेलमै बसेका छन् । समग्रमा एक टिमले ३० जनासम्म होटेलमा राखेको छ ।

हाल कर्णाली याक्सले दरबारमार्गको याक एन्ड यती, काठमाडौंले ग्वार्कोको तुलिप, जनकपुरले लाजिम्पाटको दूषित प्रिन्सेस, सुदूरपश्चिमले नक्सालको मेरिओट, लुम्बिनीले सानेपाको भिभान्ता, विराटनगरले हायात, पोखराले सोल्टी र चितवनले कुपन्डोलको हिमालयन होटेलमा राखेको छ ।

आठ टोलीमा ४२ विदेशी खेलाडी
हरेक टिमले ४ देखि ६ विदेशी खेलाडी राख्न पाउँछन् । काठमाडौं, विराटनगर र कर्णालीले ६–६ खेलाडी लिइसकेका
छन् । पोखरा, जनकपुर, चितवन र लुम्बिनीले पाँच–पाँचजना अनुबन्ध गर्दा सुदूरपश्चिमले चारजना मात्रै विदेशी खेलाडी भित्र्याएको छ ।

१३ हजार दर्शकले प्रत्यक्ष हेर्न सक्ने गरी तयार छ प्यारापिट
दोस्रो संस्करणका हरेक खेल १३ हजार दर्शकले प्रत्यक्ष हेर्न सक्नेछन् । सरकारले ४३ करोड ७७ लाख ३० हजारमा १० हजार सिटको प्यारापिट बनाएको छ । पूर्वी खण्डमा २२९० र पश्चिम खण्डमा ७७१० कुर्सी जडान गरिएका छन् । यसबाहेक क्यानले थप तीन हजार अट्ने अस्थायी प्यारापिट निर्माण गरेको छ । अस्थायी प्यारापिटमा क्यान जिल्ला प्रदेशका पदाधिकारी, खेलाडी परिवार, मालिक, स्पोन्सरलगायत बस्नेछन् ।

पहिलो संस्करणमा दर्शक चिसो चउरमा बसेर खेल हेर्न बाध्य थिए । क्यान सचिव पारस खड्काले टिकट नपाएका समर्थकलाई टिभीमै खेल हेर्न अनुरोध गरेका छन् । ‘उद्घाटन खेलका सबै टिकट सोल्डआउट भएका छन् । टिकट नलिनुहुने समर्थकले घरमै टिभीमा हेरेर सहयोग गरिदिनुहुन अनुरोध गर्छु,’ उनले भने । क्यानले यो प्रतियोगिताको टिकटबाट मात्रै १० करोड आम्दानी गर्ने योजना बनाएको छ ।

रमेश सुवेदी/नयाँ पत्रिका

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.