Connect with us

अर्थ

बाढी पहिरोले ५ जलविद्युत् आयोजनामा क्षति, १३ वटाको उत्पादन बन्द

Published

on


अस्ति असोज १७ गते शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण १८ वटा जलविद्युत् आयोजनाहरुलाई क्षति पुगेको छ। जलविद्युत् व्यवसायीहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले गरेको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ वटा आयोजनामा बाढीले क्षति पुगेको छ।

इप्पानका अनुसार इलाम जिल्लाको मात्रै ४.५ र २२ मेगावाटको माइखोला हाइड्रोपावर, ८ र ७ मेगावाटको माइखोला क्यासकेड, ७.८ मेगावाट र ९.६ मेगावाटको सुपरमाई र सुपरमाई ए जलविद्युत र ३ मेगावाटको सुपरमाई ए क्यासकेड जलविद्युत आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएको हो।

योबाहेक इलामकै जोगमाई खोला, जोगमाई क्यासकेड, तल्लो जोगमाई, माइबेनी हाइड्रो, माथिल्लो माई खोला, माइसी क्यासकेड आयोजनामा क्षति पुग्दा उत्पादन बन्द भएको हो।

यस्तै निर्माणाधीन अवस्थामा रहेका पाँचथर, इलाम र सिन्धुपाल्चोकका ५ वटा आयोजनामा क्षति पुगेको छ। पाँचथरको सभाखोला बी, हेवाखोला, सिद्धिखोला, ब्रह्मायणी र अपर ब्रह्मायणी हाइड्रोपावरमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको हो।

इप्पानले इलाम, पाँचथर र सिन्धुपाल्चोक जिल्लामा १८ वटा साना तथा ठूला आयोजना क्षतिग्रस्त भएको विवरण सार्वजनिक गर्दा सरकारले भने हालसम्म २ वटा मात्रै जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ।

ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गर्दै देशभर वर्षाका कारण निजी क्षेत्रले सञ्चालन गरेको २ वटा मात्रै जलविद्युत् क्षेत्रमा क्षति पुगेको विवरण सार्वजनिक गरेका थिए। यद्यपि जलविद्युत् व्यवसायीहरुले भने १३ वटा जलविद्युत् आयोजाना क्षतिकै कारण पूर्ण रुपमा बन्द हुन पुगेको विवरण सार्वजनिक गरेका हुन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.