मौसम पूर्वसूचनाको सबैले सही पालना गरेको खण्डमा विपत्बाट हुने सम्भावित क्षति कम गर्न सकिने रहेछ भन्ने कुरा यस पटकको सङ्घ र स्थानीय सरकारी समन्वयले प्रस्ट पारेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको बडादसैँलक्षित गर्दै दसैँका बेला नेपालमा ठुलो वर्षा प्रणाली भित्रिने पूर्वानुमानसहितको विशेष पूर्वसूचना जारी गरेको थियो ।
यस अनुसार दसैँको टीकाको भोलिपल्टदेखि नै नेपालमा जलप्रकोपका असर देखिन सक्ने भएकाले यातायात र आवतजावतमा नियन्त्रण गर्न भन्दै असोज १५ गते विभागले अर्को सूचना जारी गर्यो । काठमाडौँ उपत्यकाबाट मात्र पाँच लाखभन्दा बढी मानिस दसैँ मनाउन बाहिर गएका थिए । त्यसरी गएकाहरू भोलिपल्टबाटै उपत्यका फर्कन थालिसकेका थिए ।
यसैबिच गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहरी विकास मन्त्रालयसहित तीन वटै सुरक्षा निकायबिच लगातार भर्चुअल बैठक बस्यो । असोज १७ गते फेरि अति भारी वर्षा र बाढीको पूर्वचेतावनीसहितको पूर्वसूचना विभागको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले जारी गर्यो । असोज १७ गते शुक्रबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा हुन थालिसकेको थियो ।
असोज १८ गते शनिबार बिहान गृह मन्त्रालयले तीन दिन उपत्यकाबाट आवतजावत ठप्प पार्ने गरी सवारी आवागमन बन्द गर्ने निर्णय जारी गर्दै कडाइसाथ पालना गराउन थाल्यो । गृहमन्त्री ओमप्रकाश अर्यालले सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा टोली परिचालन गरेर उद्धारका लागि तैनाथ गरे । कतिपय स्थानमा प्रहरीले भ्यानै तेर्साएर सवारी रोक्यो । माइकिङ गर्यो । गस्तीसहित चारैतिरका नाका बन्द गरिए । जो जहाँ थिए, त्यहीँ सुरक्षित रोकिन भनियो । जबरजस्ती वैकल्पिक बाटो हुँदै जानेहरू पहिरो र बाढीका कारण बाटोमा अलपत्र परे । त्यसमा पनि कतिपय स्थानका होटल व्यवसायीलाई सहुलियत र निःशुल्कसम्मको सुविधा यात्रुलाई दिन सरकारले लगायो । देशव्यापी विपत्को सङ्कट टार्न आइतबार र सोमबार सङ्कटकालीन सार्वजनिक बिदा घोषणा गरेर घरमै बस्न सबैलाई सरकारले अर्को अनुरोध गर्यो ।
प्रधानमन्त्री सुशीला कार्कीले आमनागरिकलाई सम्बोधन गर्दै विपत्मा समन्वय गरेर जनधनको सुरक्षामा सघाउन अपिलै गरिन । गृहमन्त्री अर्याल विपत् कार्यकारी परिषद्को अध्यक्ष भएकाले उनकै नेतृत्वमा हरेक निर्णय भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन्, “दसैँको टीकाको दिन टीका लगाउन मात्र हामी घरिपरिवारसँग बस्यौँ, बाँकी समय भर्चुअल बैठकमा कसरी सुरक्षा र जिउधन जोगाउने भनेरै कार्यकारी प्रमुख दिनेश भट्टसहितको टोली नै सङ्कट सम्बोधन गर्न लागिपर्यौँ । शनिबार बिहानदेखि अहिले पनि प्राधिकरणको टिम कार्यालयमै रहेर लगातार काम गरिरहेको उनले जानकारी दिइन ।
नागरिकले पनि मौसमी पूर्वसूचना सुने र सरकारको आदेश धेरैले माने । रामेछाप जान नपाएर फर्केका श्यामबहादुर स्याङ्तानले भने, “सरकारले हाम्रै ज्यान सुरक्षाका लागि यसो गरेको हो भनेर धुलिखेलबाट परिवारसहित म पनि काठमाडौँ फर्किएँ, सबैले यसरी नै बुझे क्षति हुँदैन ।” पोहोर यत्ति नगर्दा दसैँकै बेला झ्याप्लेखोला र त्यसअघि असारताका त्रिशूली नदीमा त्यत्रा यात्रुको ज्यान अनाहकमा गएको उनले स्मरण गरे । गत वर्ष दसैँताका पूर्वसूचना र सरकारी निर्णय पालना नहुँदा ३५ जना यात्रुको ज्यान गएको थियो ।
त्रिशूलीमा पहिरोले बस बगाउँदा ६६ जना नदीले बगाएको थियो । पूर्वसूचनाको सही पालना गराउन यस पटक अत्यधिक सफल रहेको अनुभूति पनि प्राधिकरणले गरेको छ । प्रवक्ता महतले थपिन, “इलाममा रातिको समयमा पहिरो जाँदाबाहेक अन्य ठुला घटनाका विपत्मा नागरिक परेनन्, जसले नागरिकको जिउधनको सुरक्षा गर्न सक्यौँ भन्ने महसुस गरेका छौँ ।” उहाँका अनुसार मध्यरातमा पहाडी भेगमा गएको पहिरो भने सरकारका लागि चुनौतीपूर्ण बन्यो ।
साँझै पहिरोका सङ्केत बुझ्न स्थानीयले सकेको भए त्यसमा पनि क्षति कम हुन्थ्यो भन्ने प्राधिकरणलाई लागेको छ । अझै पनि सबै सङ्कट टरिनसकेकाले सरकारी संयन्त्र चनाखो हुनुपर्ने वरिष्ठ मौसमविद् विनोद पराजुली बताउँछन् । उनका अनुसार कोशी नदी जलाधार क्षेत्रका पूर्वी नेपालमा धेरै जिल्लामा वर्षा भइरहेको छ । बाढी पूर्वानुमान शाखाका प्रमुखसमेत रहनुभएका उनले भने, “सप्तकोशीमा बाढी खतराको तहभन्दा माथि छ । सोमबार बिहानसम्मका लागि ‘हाई अलर्ट’ जारी गरेका छौँ ।” यीबाहेक बागमती र मधेशको अवस्था भने सामान्यतर्फ उन्मुख छ ।
यस वर्ष विगतका तुलनामा पूर्वसूचनाको सम्बोधन गतिलो गरी भएको अनुभव उनको पनि छ । गत वर्षको बाढीको भोगाइपछि संयन्त्र चुस्त बनाउँदै लगिएको मात्र हैन कि पूर्वसूचनाको सम्बोधन कडाइसाथ पालना गराउन यो वर्ष राम्ररी सकिएको देखिएको छ । समयमै गरिएका निर्णयलाई बाध्यकारी रूपमा यस पटक पालना गराइनु नै क्षति कम हुनुको प्रमुख कारण हो ।
त्यस्तै स्थानीय पालिका यस पटक जिम्मेवार देखिएको उनले सुनाए । चाहे काठमाडौँ महानगरपालिका होस् वा झापा गाउँपालिका सबै ठाउँमा स्थानीय पालिकाले सुरक्षा निकायसँग तारतम्य मिलाएर उद्धार र राहतका लागि काम गरेको देखियो । सङ्घीय सरकारै गएर उद्धार गर्नेभन्दा पनि पालिकाले सुरक्षाका लागि माइकिङ गर्ने, नदीआसपास सुरक्षा बढाउने, डुबान र बाढी पसेका ठाउँमा उद्धार गर्न जाने काम समयमै स्वस्फूर्त गर्नु पनि राम्रो पक्ष देखिएको पराजुली औँल्याउँछन् ।
यस्तोमा अघिल्लो वर्ष ललितपुरमै देखिएको जस्तो विपत् आएको भए पनि समयमै सबैको उद्धार हुन्थ्यो भन्ने अनुमान उनले लगाए । पहिरोको मामिलामा भने पूर्वसूचनामै कमजोरी रहेको उनी स्वीकार्छन् । यतिखेर वा यो दिनमा, यस स्थानमा पहिरो जान सक्छ भनेर पूर्वानुमान गर्न सकिने अवस्था नरहँदा अप्ठ्यारो छ ।
चाँदनी हमाल/गोरखापत्र