Connect with us

समसामयिक

सरकारले ज्यापू अक्षय कोषलाई १० लाख दियो, अझ थप्ने प्रधानमन्त्रीको आश्वासन

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । 

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो । 

“गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो ।  यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन् ”, प्रधानमन्त्री ओलीले भने,  “नेपाल भाँड्नका लागि  र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौँ । बैँकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौैँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।”

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दःख भोगेका छौँ, त्यस्ता दुखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य  र सुसंस्कृत हुँदै आत्मीयता र  भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे ।

‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’
नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उनले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरेका छन् ।

राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट रु १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षय कोषमा सक्दो रकम वृद्धि गर्ने विश्वास दिलाए। 

नेवारी संस्कृति र परम्परताले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको उनको भनाई छ । आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरेका थिए।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीसमक्ष ज्यापु दिवसका लागि यही मङ्सिर १२ गते बालुवाटारमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर परम्परागत निमन्त्रणा (ग्वय्  दाँ तयेगु ज्वाइव) दिइएको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.