Connect with us

अर्थ

विद्युतीय राहदानी आपूर्ति अब सहज

Published

on

विद्युतीय राहदानी आपूर्ति अब सहज हुने भएको छ । पुरानै आपूर्तिकर्ता फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटीसँग राहदानी विभागले सम्झौता गरेसँगै हाल कायम राहदानीको अभाव पूर्ति हुने भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा राहदानी सङ्कट समाधान गर्न सफल भएको प्रधानमन्त्री कार्यालयले बताएको छ । प्रधानमन्त्री कार्कीले नेपालका लागि जर्मनीका राजदूत तथा सम्बन्धित कम्पनीका अधिकारीहरूलाई पनि बोलाएर समस्या सुल्झाउनका लागि पहल गरेकी थिइन ।

साबिकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानो मूल्य नबढ्ने गरी नयाँ सात लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएको हो । राहदानी विभागले राहदानी उत्पादन कटौती हटाउँदै पुरानै लयमा राहदानी वितरण गर्ने विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिए । यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थापन गर्न नसकेका कारण राहदानी विभागले दैनिक एक हजारमा सीमित गरी उपलब्ध गराउँदै आएको थियो । नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब छ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राही मर्कामा परेका थिए ।

उक्त समस्या झेल्न विभागलाई हम्मेहम्मे परेको बेला उक्त कम्पनीसँग तत्कालका लागि सात लाख राहदानी तथा सोका लागि आवश्यक अनलाइन भेरिफिकेसनसहित सम्झौता भएको महानिर्देशक अर्यालले जानकारी दिए । राहदानी विभागले लामो प्रयासपछि अन्तरिम अवधिका लागि उक्त कम्पनीसँग वार्तामार्फत सहमति गरी थप सात लाख राहदानीका लागि सम्झौता गरेर छपाइको काम अघि बढाएको उनले बताए । उनले भने, “सम्झौता अनुसार आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने र त्यसपछि व्रmमशः थप राहदानी आपूर्ति हुने छ, यसले अब छिट्टै राहदानी उपलब्धतामा देखिएको समस्या हट्ने छ ।”

आज आइतबारदेखि राहदानी विभागले पहिले उपलब्ध गराउँदै आएको छ हजार पाँच सय थान हाराहारीमै उपलब्ध गराउने बताएको छ । यसका लागि विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार अतिरिक्त समय काममा लगाएर भए पनि राहदानी आपूर्ति सहज तुल्याइने विभागले जनाएको छ ।

विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकको राहदानी साबिककै हिसाबमा करिब दुई हप्ताभित्रमा छपाई गरी पठाइने व्यवस्था मिलाइने भएको छ । त्यसै गरी जिल्ला÷इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा गत कात्तिक १५ गतेसम्म आवेदन दिएकाहरूलाई आगामी दुई हप्ताभित्र र त्यसपछि आवेदन दिने आवेदकहरूको राहदानी साबिकबमोजिम वितरण गरिने भएको छ ।
चाँदनी हमाल/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.