सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छपाइ सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरे ।
सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए । उनले वर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपुर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने,“वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्रअन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए ।
मेसिन र पार्टपुर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।” उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।
“अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेका छौँ”,सञ्चारमन्त्री खरेलले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच छ ।” लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए ।
उनले नीतिगत समस्या, बेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाइ सुरु गरिएको उल्लेख गरे । उनले थपे,“सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको बेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्छ छपाइ सुरु गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै छाप्छौँ । यसबाट मुलुकको पैसा बाहिर जान रोकिन्छ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्वपूर्ण र राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिनुपर्छ ।”
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको जानकारी दिएका छन् । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँचसय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाइ सुरु गरिएको हो ।
निर्माणाधीन भवनबाट कागजी छपाइको काम अबको छ महिनाभित्र सुरु गरिनेछ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब लगानी भएको छ ।