Connect with us

राजनीति

३३ औँ प्रधान न्यायाधीशको नेतृत्व गर्दै मनोज शर्मा

Published

on

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा (विद्यावारिधि) को नाम सिफारिस गरेपछि ३३ औँ प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्र्दछन् । भलै संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन हुनुपर्नेछ । संसदीइ सुनुवाइ समितिमा उनलाई सिफारिस गर्ने रास्वपाकै सांसदहरुको बहुमत भएकोले त्यहाँबाट शर्माको नाम अनुमोदन हुने पक्का जस्तै छ ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले हिजो बिहीबार साँझ भावी प्रधान न्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्वको गर्ने जिम्मेवारी डा शर्मामा आएको हो ।

विसं २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिएका शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । उनले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । प्रधान न्यायाधीशमा सिफारिस भएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।

न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए ।

परिषद्ले भावी प्रधान न्यायाधीशमा नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले अनुमोदन गरेर राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएमा उनको कार्यकाल २०८९ असार ४ सम्म छ वर्षको हुनेछ ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गत चैत १८ गतेदेखि कायममुकायम (कामु) प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी थिइन ।

प्रधान न्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीश स्वतः कामु प्रधान न्यायाधीश हुने व्यवस्था गरिएको छ ।

न्याय परिषद्ले गत फागुन २६ गते प्रधान न्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका छ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो । प्रधान न्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.