Connect with us

राजनीति

नेपाल–चीन ७० वर्षे सम्बन्धः आपसी विश्वासको गति

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको सम्बन्ध अर्थपूर्ण साझेदारीमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा नेपालस्थित चिनियाँ दूतावासले हिजो शुक्रबार राजधानीमा आयोजना गरेको वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल–चीनबिचको सम्बन्ध स्थायित्व, आपसी विश्वासको प्रतीक हो, साझा लाभका लागि नयाँ बाटोहरू पहिल्याउन सहकार्यको दायरा फराकिलो बनाउँदै सम्बन्धलाई अझ गहिरो बनाउन जरुरी छ ।”

यो वर्षगाँठले दुई देशको जनसम्बन्धलाई रणनीतिक साझेदारीतर्फ लम्काएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरे । समयको गतिशीलता र जटिलताका बिच पनि नेपाल र चीन सदैव एकअर्काको साथमा उभिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रो सम्बन्ध गहिरो सभ्यतासँगै सांस्कृतिक जरामा गढिएको छ र यो आपसी सम्मान र जनसम्बन्धले प्रगाढ बनेको छ ।”

प्रधानमन्त्री ओलीले नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्देखोलाको हिमबाढीले दुवैतर्फ ठुलो क्षति गराएको स्मरण गरे । जलवायु परिवर्तनका कारण दुई देशको हिमालय क्षेत्रमा सृजित समस्याले गहन साझेदारी खोजेको उल्लेख गर्दै उहाँले पूर्वसूचना र हिमालय क्षेत्रको दिगो विकासमा नेपाल सरकारले चीनको साथ खोजेको स्पष्ट पारे ।

चीनले गरेको विकास र प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले त्यो केवल चीनका लागि मात्र नभएर क्षेत्रीय स्थायित्व र वैश्विक विकासका लागि पनि भएको औँल्याए । नेपालको समृद्ध नेपाल सुखी नेपालीको यात्रामा चीनको विकास अन्तरसम्बन्धित रहेको बताउँदै उनले दुई देशबिचको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सहकार्यमार्फत सम्पर्क सञ्जालको विस्तार तथा विकास साझेदारीलाई बृहत्तर बनाउन अग्रसर रहेको पनि स्मरण गरे । उहाँले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबिचको व्यापार, विकास तथा आपसी सहकार्यलाई समृद्धितर्फ उन्मुख गराएको औँल्याए ।

नेपालका लागि चीनका राजदूत छन सोङले अरनिकोले चीनमा सेतो प्यागोडा शैलीको मन्दिर बनाएपछि मात्र सन् १९५५ मा दुई देशको सम्बन्ध औपचारिकतातर्फ मोडिएको प्रस्ट पारे । द्विपक्षीय सम्बन्धसँगै रणनीतिक साझेदारीमा बदलिएको यस सम्बन्धले विकास र समृद्धिको यात्रालाई थप उच्च बनाएको सोङले बताए । दुई देशबिचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई अझ गाढा बनाउने औँल्याउँदै उहाँले चीन सरकार उच्चस्तरीय भ्रमणको सिलसिलालाई निरन्तरता दिन तयार रहेको जानकारी दिए । चीनमा अरनिकोले बनाएको प्यागोडा शैलीको बौद्धस्तूप र लुम्बिनीमा चीनले बनाएको मन्दिरले दुई देशको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाएको उनको धारणा थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराईलगायतका विभिन्न राजनीतिक पार्टीका उच्च नेतृत्व, कूटनीतिक व्यक्तित्व सहभागी भएका थिए । समारोहमा दुई देशको दिगो सम्बन्ध झल्काउने कला, संस्कृतिसँगै नृत्य तथा गीतसङ्गीतको प्रस्तुति गरिएको थियो । जसमा नेपाली तथा चिनियाँ विद्यार्थी तथा कलाकारले कला सङ्गीतमार्फत नेपाल–चीन सम्बन्धको विगत र वर्तमान झल्काएका थिए ।
चाँदनी हमाल/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.