Connect with us

समसामयिक

ओमन हुँदै खाडी मुलुकमा नेपाली महिलाको तस्करी

Published

on

रोशन पोखरेल

भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरेपनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको बताएको छ ।

दैनिक २५० भन्दा बढी नेपाली महिलाको तस्करी
विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्र दैनिक २५० जना नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, जसमा ठूलो संख्यामा तस्करीका सिकार भएका छन् । दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरू ओमनलाई ‘ट्रान्जिट प्वाइंट’का रूपमा प्रयोग गर्न थालेका छन् । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न एयरलाइन्स मार्फत मानव तस्करी व्यापक रूपमा भइरहेको पाइएको छ ।

नक्कली कागजातको प्रयोग र एयरलाइन्स कर्मचारीको संलग्नता
नेपाल सरकारले २०८० माघ १० गतेबाट लागू गरेको छ-बुँदे मापदण्डका आधारमा भिजिट भिसामा विदेश जान लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गर्नुपर्ने नियम भएपनि तस्करहरूले नक्कली कागजात बनाएर तस्करीलाई निरन्तरता दिइरहेका छन् । प्रहरीका अनुसार, दुईतर्फी टिकट भएपनि एउटा मात्र प्रयोग गर्ने, रिटर्न टिकट नक्कली बनाउने, होटल बुकिङ नक्कली गर्ने, ५०० अमेरिकी डलर बोक्नुपर्ने मापदण्डलाई नजरअन्दाज गर्ने कार्य भइरहेको छ ।

यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरलाइन्सका कर्मचारीहरू पनि प्रत्यक्ष संलग्न रहेको खुलासा भएको छ । तस्करहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर १०,००० रुपैयाँसम्म रकम बुझाएर बोर्डिङ पास प्राप्त गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

खाडी मुलुकतर्फ महिला तस्करीको भयावह अवस्था
नेपाल सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाएको भएपनि तस्करहरूले गैरकानुनी रूपमा महिलाहरूलाई आकर्षक तलब र सुरक्षित रोजगारीको प्रलोभन देखाएर तस्करी गरिरहेका छन् । यसरी गैरकानुनी रूपमा गएका महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । उनीहरू शारीरिक शोषण, यौन हिंसा र जबरजस्ती श्रम शोषणको सिकार हुने गरेका छन् । यस्तै सरकारसँग २०७३ सालदेखि हालसम्म खाडी मुलुकमा अवैधानिक रूपमा पुगेका करिब २ लाख नेपाली महिलाको कुनै आधिकारिक तथ्यांक नै छैन ।

कडा कदम चाल्नुपर्ने अवस्था
नेपाल सरकारले हाल भिजिट भिसाको व्यवस्थापनलाई थप कडाइ गर्दै श्रम स्वीकृति प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । खाडी मुलुक जाने महिलाहरूलाई भिजिट भिसाको सट्टा वैधानिक श्रम स्वीकृति दिलाएर पठाउने व्यवस्था गर्न सकियो भने सरकारले उनीहरूको सुरक्षा र कार्यमा निगरानी राख्न सक्नेछ । गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र सुरक्षा निकायहरू मिलेर यो समस्या नियन्त्रण गर्न गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । अन्यथा, नेपाली महिलाहरू मानव तस्करहरूको सञ्जालमा परेर जीवनभर शोषणको शिकार बन्ने अवस्था रहिरहनेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.