Connect with us

समसामयिक

प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट नौ ‘बन्दी’ फरार

Published

on

जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) साँझ सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् ।

बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले बताएका छन् ।

फरार भएकामध्ये दुई जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेको र बाँकीको खोजी भइरहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । एसपी कटवालका अनुसार भागेकाहरु सबै १८ वर्षभन्दा माथि उमेर समूहका छन् ।

बाल सुधार गृहको सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र त्यहाँ २७–२८ वर्षसम्मका बिझ्याइँकर्ताहरुलाई पनि राख्नु परेकाले पटक पटक सुरक्षा चुनौती आउने गरेको छ । त्यसबाहेक बाल सुधार गृहमा क्षमता भन्दा धेरैलाई राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ छ । १५० जना क्षमताको बाल सुधार गृह विराटनगरमा अहिले २६० जनालाई राखिएको छ । जेनजी आन्दोलनका क्रममा भागेका करिब १० जना अझै सुधार गृहमा फर्किएका छैनन् ।

यसअघि पनि पटक पटक बाल सुधार गृहबाट बिझ्याइँकर्ताहरु भाग्दै आएका थिए । विगतमा भवनबाट फालहानेर दुई तीन जना भाग्ने गरेकोमा जेनजी आन्दोलनपछि सुरक्षाका लागि खटिएका प्रहरीलाई नै आक्रमण गरेर भाग्ने घटना दोहोरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.